|
नेपाल प्रहरीले बरामद गरेको गाँजा।

विराटनगर : पछिल्लो समय औषधीजन्य प्रयोजनका लागि गाँजा खेती वैध गर्नुपर्ने माग उठिरहेका भए पनि कानुनले गाँजालाई लागुऔषध नै मानेको छ।

गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्छ भन्ने तर्क र माग बढ्दै गएको भए पनि यसले अझैसम्म कानुनी मान्यता पाएको छैन। त्यसैले गाँजा उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्णतः प्रतिबन्धित नै रहेको छ।

प्रतिबन्धित गाँजा विशेषगरि पहाडी जिल्लाबाट भारतीय बजारमा ओसारपसार हुने र सोही क्रममा गाँजासहित पक्राउ पर्ने घटना पनि उत्तिकै धेरै छन्।  

घटना १:

धनकुटा र मोरङका छुट्टाछुट्टै दुई ठाउँबाट ९० किलो १०० ग्राम गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख २८३३ नम्बरको यात्रुवाहक बसमा झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको थियो।

जाँचकै क्रममा सोही बसमा सवार शहीदभूमी गाउँपालिका–१ धनकुटाका ३२ वर्षीय सुरज राईको साथबाट ४० ग्राम र २२ वर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो।

गाँजा बरामद भएसँगै उक्त बस र बसचालक सुन्दरहरैँचा–५ मोरङका ५१ वर्षीय रुद्रबहादुर तामाङ, सहचालक शहीदभूमि गाउँपालिका–७ का ४३ वर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटा का २९ वर्षीय सुरेन्द्र देवानसमेतलाई प्रहरीले पक्राउ गरेका थिए।  

सोही दिन विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित धनकुटा शहीदभूमि गाउँपालिका–४ का ४४ वर्षीय यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको थियो।

राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजा लुकाईछिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

घटना २:

पुस २५ गते सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ पर्नेमा धरान–१३ का ४७ वर्षीय पर्शुराम गुरुङको घरमा खानतलासी गर्दा घरमा रहेको  को १ ह १८५६ नम्बरको अटो (टेम्पो)मा समेत लुकाईछिपाई राखेको १७ किलो २०० ग्राम गाँजा बरामद भएको थियो।

घटना ३ः

पुष १८ गते  गाँजासहित २ जना प्रहरीले पक्राउ गरेको थियो। मोरङको रंगेली नगरपालिका–१ बबियाबिर्ताबाट ४० वर्षीय मनोज राजवंशी र गाँजा ओसारपसारमा संलग्न धनकुटा शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भन्ने हस्त राईसहित प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल प्रहरीले पक्राउ गरेको थियो।

उल्लेखित घटना प्रतिनिधि पात्रमात्र हुन्। यता, प्रदेश कार्यालय विराटनगरको तथ्यांकअनुसार चालू आवको ६ महिनामा ६८ जना पुरुष र ५ जना महिलाविरुद्ध  गाँजा ओसारपसारका ५१ वटा मुद्दा दर्ता भइसकेको छ। मोरङमा ३ महिनामा गाँजासहित २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सुनसरीमा ११ जना पक्राउ परेका छन्।

६ महिनामा बरामद गाँजाको परिमाण

प्रहरीको तथ्याङ्कअनुसार ६ महिनामा प्रदेशका ७ जिल्लाबाट १ हजार ३४९ किलो ३२० ग्राम ७०० मिलिग्राम गाँजा बरामद भएको छ।

अधिकांश पहाडी जिल्लाबाट गाँजा ओसारपसार हुने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ। इलाम, पाँचथर, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगा र सोलुखुम्बुबाहेक बाँकी जिल्लामा लागुऔषध गाँजाको उत्पादन, ओसारपसार, कारोबार र प्रयोग हुने गरेको पाइएको छ।

चालू आवको ६ महिनामा जिल्लागत विवरणअनुसार मोरङ र सुनसरीमा सबैभन्दा धेरै गाँजा बरामद भएको छ। मोरङमा ६५६ केजी र सुनसरीबाट ५६५ केजी ६६४ ग्राम गाँजा बरामद भएको छ।

धनकुटाका १८ जना व्यक्ति पक्राउ पर्दा ४७ केजी गाँजा बरामद भएको छ तर भारततर्फ गाँजा लैजाने क्रममा सुनसरी–मोरङका विभिन्न स्थानमा पक्राउ परेकामध्ये अधिकांश धनकुटाकै छन्।

झापामा ४ केजी गाँजासहित ४ जना, उदयपुरमा १० केजी गाँजासहित १४ जना, खोटाङमा २ केजी गाँजा र ३ जना पक्राउ परेका छन् ।

प्रदेश १ प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार गत आव ०७८/७९ मा १३५ जना पक्राउ गरेर १०६ वटा मुद्दा दर्ता गरिएको थियो। गत वर्ष २ हजार २२ केजी गाँजा समातिएको जानकारी उनले दिए।

धनकुटामा हुन्छ धेरै गाँजा खेती

प्रहरी उपरीक्षक राईका अनुसार धनकुटामा धेरै उत्पादन हुने गरेको छ। उनका अनुसार धनकुटाबाट विभिन्न माध्यमको  प्रयोग  गर्दै  सुनसरी–मोरङमा गाँजा ल्याउने  गरेको पाइएको छ।

धनकुटा  हुँदै आएको गाँजा सुनसरी, मोरङबाट खुल्ला सीमाको प्रयोग गरेर भारत लैजाने गरेको पाइएको छ। प्रहरीले यसको विस्तृत अध्ययन गरिरहेको छ। प्रहरी उपरीक्षक राईका अनुसार अहिलेसम्मको अनुसन्धान र अध्ययनले धनकुटामा उत्पादन भएको गाँजा मोरङ–सुनसरीबाट भारततर्फ निकासी हुँदै आएको पाइएको छ।

तरकारी बोक्ने गाडीमा गाँजा ओसारपसार

धनकुटामा उत्पादन भएको गाँजा सुनसरी–मोरङसम्म ल्याउन तरकारी बोक्ने गाडी प्रयोग हुने गरेको पाइएको छ। अघिल्लो सातामात्रै विराटनगर बसपार्कमा तेजपत्ता र साग ल्याएको गाडीमा ५० केजी गाँजा बरामद भएको थियो।

कोशी गाउँपालिका–३ मा नियन्त्रणमा परेको २१७ केजी गाँजा साग सब्जी बोकेर जनकपुर हिँडेको को १ च ८५२५ नम्बरको पिकअफबाट बरामद भएको थियो।

नेपालमा भन्दा भारतमा दोब्बर मोल

गाँजा नेपालमा प्रतिकिलो ७ देखि १० हजार रूपैयाँ पर्ने गरेको तर सो गाँजा भारतमा पुर्‍याउँदा प्रतिकिलो २० हजार रूपैयाँसम्म बिक्री हुने प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूको भनाइअनुसार पक्राउ परेकाहरूको बयान र अनुसन्धानका क्रममा यसको ओसारपसारबाट हुने फाइदाकै कारण जोखिम मोलेर पनि ओसारपसार हुने गरेको पाइएको छ। 

यस्तो छ गाँजा बेचबिखनमा सजाय

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजाको उत्पादन, ओसारपसार, खरिदबिक्री, निकासी–पैठारी र भण्डारण गर्न पाइँदैन।

यस्तो काम गर्नेलाई बरामद गाँजाको परिमाणका आधारमा ३ महिनादेखि १० वर्षसम्म कैद र ३ हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.