बझाङ : बझाङ जिल्लाको सबैभन्दा दुर्गम हिमाली गाउँपालिकाको रूपमा रहेको साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी समस्या भएको छ। साइपाल गाउँपालिकाको लाग्नामा अत्यधिक हिमपात भएपछि बाटो अवरुद्ध भएको हो।
गत बुधबार भएको हिमपातपछि बाटो अवरुद्ध भएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको हो। यातायातका साधन नपुगेको बझाङको साइपाल गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न ओसार्ने गरिएको छ।
हिमपातले बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानीका लागि जाने भेडा, खच्चर ओहोरदोहोर गर्न समस्या भएको छ। साइपालको वडा नं १ देखि ५ सम्म हिमपातले बाटो अवरुद्ध भएपछि खाद्यान्न अभाव हुन थालेको स्थानीय तथा निवर्तमान गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए।
खाद्यान्न अभाव हुन नदिन ६ महिना पहिले कांडा बिक्री केन्द्रले ३ हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का पाएको भए पनि ६ महिनासम्म ६ सय क्विन्टल मात्र ढुवानी गरेको र मौज्दात खाद्यान्न कुनै पनि वडामा बाँकी नरहेको गाउँपालिकाले जनाएको छ।
सम्झौताअनुसार बाँकी २ हजार ४ सय क्विन्टल खाद्यान्न ५ महिनाभित्र ढुवानी गरिसक्नु पर्नेछ। यस विषयमा खाद्यान्न बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुने चिन्ता बढेको धामीको भनाई छ।
खाद्यान्न अभाव हुन नदिन अवरुद्ध बाटो खोल्ने तयारी थालिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर वोहराले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।