|

जनकपुरधाम : मधेश प्रदेशमा कुष्ठरोगीको संख्या अत्यधिक देखिएको छ।​

७०औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार जनकपुरधाममा सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरे।

स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादवले मधेश प्रदेशमा मात्रै ९१० जना कुष्ठरोगी रहेको बताए।

प्रमुख यादवले उल्लिखित संख्याभन्दा पनि बढी कुष्ठरोगी रहे पनि सामाजिक विभेद, घृणाका कारण अस्पताल जाने वातावरण नरहेकाले वास्तविक संख्या पत्ता लगाउन समस्या रहेको बताए।

चालू आर्थिक वर्ष २०७९।८० मा नेपालमा २ हजार २८५ नयाँ कुष्ठरोगी रहेको समेत बताए।

सबभन्दा बढी बारामा जिल्लामा कुष्ठरोगी रहेको बताउँदै प्रमुख  यादवले नेपालका कुल रोगीमध्ये मधेशमा मात्र ४० प्रतिशत भेटिएको जानकारी दिए।

सरकारी तथ्यांकअनुसार देशभरका १६ जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा धेरै विरामी रहेको स्थिति छ। जसमा बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली, रूपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी पश्चिम र बारा रहेका छन्। मधेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका विरामी रहेको तथ्यांक छ।

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मूल नाराका साथ धनुषाको सपहीमा सम्पन्न विश्व कुष्ठरोग दिवस कार्यक्रममा सहभागी लालगढ कुष्ठरोग सेवा केन्द्रका उपनिर्देशक डा. कृष्णबहादुर तामाङले कुष्ठरोगीलाई उपचार मात्रै नभई सामाजिक सहयोग समेत आवश्यक रहेको बताए।

लालगढ कुष्ठरोग अस्पताल तथा सेवाकेन्द्रले अहिले दैनिक चार सय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ। उपनिर्देशक तामाङले लालगढ अस्पतालले ९२ शय्यामार्फत छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आएको जानकारी समेत दिए।

एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका विरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ।

नेपालमा २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रूपमा निवारण (प्रति १० हजार जनसंख्यामा १ भन्दा कम विरामी) भएको घोषणा गरिएको थियो। त्यस समयमा राष्ट्रियस्तरमा कुष्ठरोगको प्रकोप दर ०.७७ रहेको थियो भने आर्थिक वर्ष २०७८।७९ को अन्त्य सम्म ०.८१ रहेको छ।

कुष्ठरोग निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रिय स्तरमा निवारणको अवस्थामा कायम रहेको देखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.