|

बैतडी : बैतडीको  दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

दशरथचन्द नपा-१० बाराकोटले दशरथचन्द नपा-५ लाई ६ विकेटले हराएर सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो। यसअघि दशरथचन्द नपा-२ देहिमाडौं, दशरथचन्द​ नपा-६ थालिगडा र दशरथचन्द​ नपा-८ त्रिपुरा सेमिफाइनलमा पुगिसकेका छन्।

दशरथचन्द नपा-५ ले दिएको ११७ रनको लक्ष्य बाराकोटले १७ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।  जसमा करिश्मा बुडालले अविजित  १९ रनको योगदान गरिन्।

दशरथचन्द नपा-५ का लागि संगीता चन्दले २ विकेट हात पारिन्।

त्यसअघि निंगलाशैनी क्रिकेट मैदान देहिमाडौंमा पहिला ब्याटिंग  गरेको दशरथचन्द दशरथचन्द नपा-५ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११६ रन बनायो। उसका लागि ममता लेखकले ३९ रनको योगदान गरिन्।

बाराकोटका रितु बुडाल र रिया धामीले २/२ विकेट हात पारे। रितु ओम्यान अफ द म्याच भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन्।

यसैबीच प्रतियोगितामा सेमिफाइनलका खेल सोमबार हुनेछन्। पहिलो सेमिफाइनलमा दशरथचन्द नपा-२ देहिमाडौं र दशरथचन्द नपा-६ थालिगडा भिड्दा, दोस्रो सेमिफाइनलमा दशरथचन्द नपा-८ त्रिपुरा र दशरथचन्द नपा-१० बाराकोट आमने सामने हुनेछन्।

देहिमाडौं समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने थालिगडा समूह बी को उपविजेता बन्दै अन्तिम ४ मा सुरक्षित भएको हो। यसका साथै दशरथचन्द नपा-८ त्रिपुरा समूह बी को विजेता बन्दै सेमिफाइनलमा सुरक्षित भएको हो भने बाराकोट समूह ए को  उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता माघ ९ गते शुरू भएको हो। शहीद दिवसको पूर्वसन्ध्यामा  शहीद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगिता माघ १७ गते सकिनेछ।

नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय  पुरस्कार नगद १५ हजार, ट्रफि‚ मेडल र प्रमाणपत्र रहेको  दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले  जानकारी दिए।

प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेनलाई १५/१५ सय, अनुशासित टिमलाई ३ हजार र ओमेन अफ द म्याचलाई ट्रफि तथा प्रमाणपत्र दिइने जनाइएको छ।

प्रतियोगिताको समापनको दिन दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तरराष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिनेछ। प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरुप जनही १५० रूपैयाँका दरले खेलाडीलाई नगद दिने गरिएको छ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो। खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ  रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले  प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताए।

निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.