|

इलाम : समय सापेक्ष र रोजगारीमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव जस्ता विविध कारणले अहिलेको युवा पुस्तामा विदेश मोह रहेको छ।

दैनिकजसो हजारौंको संख्यामा युवा विदेशकै लागि एयरपोर्टमा भेटिन्छ। परदेशमा जवानी उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन्। केही युवा विदेशमा सिकेका सीपलाई आफ्नै देशमा प्रयोग गर्ने लक्ष्य समेत राख्छन्। तिनै कर्मठ युवामध्येमा पर्छन् ताप्लेजुङको फुङलिङ नगरपालिका–५ का गोपाल मगर।

७ वर्ष जापानमा पसिना बगाएका उनी आजकाल इलामको चुलाचुली गाउँपालिका–३ शिवओरकमा तरकारी गोड्दै गरेका भेटिन्छ। जापानको बसाइ बिट मारेर अहिले व्यावसायिक कृषि र पशुपालनबाट स्वरोजगार बनेका छन्।

‘गौथले कृषि तथा पशुपक्षी फार्म’ सञ्चालन गरिरहेका मगरले अहिले १३ जनालाई रोजगारी समेत दिएका छन्। झापासँग सीमा जोडिएको चुलाचुलीमा अहिले २ बिघा जग्गा १५ वर्ष लिजमा लिएर कृषि र पशुपालनलाई पेशा बनाएका छन्। मगरको फार्ममा बंगुर, लेयर कुखुरा, ब्रोइलर कुखुरा र स्थानीय जातका बाख्रा छन्।

१ वर्ष अघिबाट सुरु भएको फार्ममा अहिले ३० वटा बंगुर, ४ हजार लेयर कुखुरा, १७ हजार ब्रोइलर कुखुरा र तीन दर्जन स्थानीय जातका बाख्रा छन्।

यसबाहेक फार्ममा मौसमअनुसारको तरकारी पनि फलाउँछन्। अहिले फार्ममा टमाटर, तितेकरेला, भेडे खुर्सानी, स्थानीय खुर्सानी, सिमीलगायत तरकारी फलिरहेका छन्।

भौगोलिक दूरी नजिक रहेकाले मगरको मुख्य बजार झापाको दमक हो। दमकको बजार हुँदै उनको उत्पादन अन्य क्षेत्रमा समेत पुग्ने गरेको छ। ‘बंगुरको बजार राम्रो छैन। बंगुरबाट चाहिँ लगानी उठाउनै हम्मे परिरहेको छ तर कुखुरा र तरकारी खेतीबाट राम्रै आम्दानी भइरहेको छ’, मगरले भने, ‘भर्खर भर्खरै सुरु गरेको व्यवसाय हो, स्थापित भइसकेको छैन। तैपनि १३ जनालाई रोजगारी दिन भने पुगिरहेको छ। विस्तारै राम्रो हुँदै जान्छ भन्ने आशा छ।’

एक करोड रुपैयाँको लगानीमा सुरु गरेको मगरको व्यवसायमा हालसम्म दुई करोड रुपैयाँ खर्च भइसकेको छ। मगरले फार्मबाटै माटोमा उत्पादन गरेर उपभोक्ताको मुखसम्म पुर्‍याउने योजनाका साथ अघि बढेका छन्। त्यसका लागि उनले लेयर कुखुरा पालनदेखि मासुपसलसम्मको व्यवसाय सुरु गरेका छन्। 

आफ्नै तरकारी पसल सञ्चालन गर्ने उनको योजना छ। मगरको झापाको दमकमा तीनवटा मासुपसल सञ्चालनमा छ। एउटा खसीको र दुईवटा कुखुराको मासुपसल सञ्चालनमा छ।

‘हामी उत्पादनदेखि उपभोक्ताको मुखसम्म पुर्‍याउन आफैं लागिपरेका छौं। त्यसका लागि करिब आधा काम सकियो। अब आधा काम धमाधम भइरहेको छ’, मगर भन्छन्, ‘आफैं उत्पादन गरेर उपभोक्तासम्म पुर्‍याउने हो भने बिचौलियाको भर पर्नु नपर्ने र ग्राहकले पनि गुणस्तरीय उत्पादन उपभोग गर्न पाउनेछन्।’

उनको व्यावसायिक कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्न कृषि ज्ञानकेन्द्र इलामले ५ लाख सहयोग गरेको छ। परम्परागत शैलीको व्यवसायलाई विस्थापित गर्दै कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतका रूपमा अघि बढाएका मगरले झापाको दमकमा समेत तीनवटा अन्य फार्म सञ्चालनमा ल्याएका छन्। सबै फार्मबाट दैनिक १ देखि २ लाख रुपैयाँको कारोबार हुने गरेको छ

 ‘आफ्नो पुस्तालाई पुग्ने जति त जापान बसेर कमाएकै थिएँ। मलाई बसीबसी खान पुग्थ्यो’, मगरले भने, ‘तर उनले स्वदेशमै बसेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन करोडौं खर्चेर व्यवसाय शुरु गरेको हुँ।’ 

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले गाउँपालिकाभित्र व्यावसायिक कृषि र पशुपालन व्यवसाय गर्ने व्यवसायीलाई पालिकाले व्यवसाय प्रवर्धनको नीति लिएको बताउँदै आगामी दिनमा सहयोग गर्दै लगिने बताए। चुलाचुलीका कृषकहरूलाई गाउँपालिकाले अनुदानमा कृषि तथा पशुसामग्री वितरण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.