|

धनकुटा : प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुन:स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी सोमबार देशभर मनाइँदैछ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो आउने नै गरेको छ।

शहीद दिवसका अवसरमा शहीद सरोकार समाज, हुसाडेक नेपाल, शहीद स्मृति प्रतिष्ठान, शहीद परिवार संरक्षण समिति, सहिद स्मृति सरोकार अध्ययन केन्द्र, शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा शहीद प्रतिष्ठानले सोमबार बिहान धनकुटाको बसपार्कमा रहेको शहीद स्मारक पार्क र भीमनाराणय चोकमा शहीद श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।

सो कार्यक्रममा शहीदको कारणले अहिलेको अवस्था आएको बताउने राजनीतिक दलका नेता, जनप्रतिनिधि कसैको उपस्थिति रहेको थिएन।

हरेक कार्यक्रममा शहीदको नाम जप्ने र शहीदका कारणले लोकतन्त्र गणतन्त्र आएको बताउने नेताहरु शहीदको सम्मानमा उपस्थित नहुनु नेता तथा जनप्रतिनिधि शहीदप्रति जिम्मेवार नभएको आयोजकको गुनासो छ।

शहीद सरोकार समाज धनकुटाका अध्यक्ष तिलकप्रसाद राईले कार्यक्रममा सबै राजनितिक दलका प्रतिनिधि र जनप्रतिनिधिलाई निमन्त्रणा गरेको भएपनि उपस्थित नभएको बताए।

उनले अझ जनप्रतिनिधिले अहिलेको परिवर्तन आउनु र आफूहरु यो ठाउँमा पुग्नु शहीदकै योगदान बताउने गरे पनि व्यवहारमा नदेखिएको बताए।

शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा धनकुटा क्रियाशिल राजनितिक दल, जिल्ला समन्वयका जनप्रतिनिधी र धनकुटा नगरपालिकाका जनप्रतिनिधिलाई निमन्त्रण गरिएको आयोजकले जनाएको छ।

दलका नेता तथा जनप्रतिनिधीले संधै भनेअनुसार शहीद दिवसको अवसरमा आफैँ कार्यक्रम आयोजना गर्नुपर्नेमा अरूले बोलाएको कार्यक्रममा पनि नआउनु दुखद पक्ष रहेको छ।

विगतका वर्षहरुमा दलका नेता तथा जनप्रतिनिधीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता मात्रै भएपनि आउने गरेकोमा उनीहरु कार्यक्रममा नआउँदा यो वर्ष त्यो प्रतिबद्धता पनि आउन सकेन।

कार्यक्रममा सबै राजनीतिक दल र जनप्रतिनिधीलाई खबर गरेको हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले बताए। काम नभए पनि प्रतिबद्धता मात्रै आउने गरेको थियो यो पटक त्यो पनि हुन सकेन।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। शहीद दिवस मनाउन धनकुटा नआएका दलका नेता तथा जनप्रतिनिधिले शहीद दिवसमा एउटा विज्ञप्ति पनि निकालेका छैनन्।

यसले उनीहरुले हरेक कार्यक्रममा शहीदको सम्मान भनेर सम्झनुलाई हात्तीको देखाउने दाँत भनेर चर्चा हुन थालेको छ।

वि.सं २०१२ सालदेखि प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो। स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए। पछिल्लो समय जो सुकैलाई शहीद घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.