परीक्षा तालिका संशोधनको माग गर्दै प्रदर्शन

|

काठमाडौं : शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मन्त्री हुनुअगाडि पुस १५ गते सामाजिक सञ्जालमा भनेका थिए, ‘त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई परीक्षा नतिजा निकाल्न किन एक वर्ष लाग्छ? हजारौं विद्यार्थीहरू नतिजा कुर्दै छन्।’ 

उनले निर्वाचनअघि पनि व्यापक शैक्षिक सुधार गर्ने बताउँदै आएका थिए तर उनी शिक्षामन्त्री नियुक्त भएपछि भने त्रिविमा रहेका बेथितिको अन्त्यको कुनै पहल गरेका छैनन्। उनले शिक्षा मन्त्रालयको बागडोर सम्हालेको १३ दिन बितिसकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी माघ ३ गते शिक्षामन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसवेला त्रिविमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता उनले जनाएका थिए। 

त्रिविका विद्यार्थी यतिखेर न्याय माग्दै आन्दाेलन गरिरहेका छन्। त्रिविले २०७९ सालमा सञ्चालन हुने चारवर्षे स्नातक तह चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाका लागि पुस २९ गतेदेखि २०७९ साल माघ २९ गतेसम्म नियमित दस्तुरसहित आवेदन फारम भरेर बुझाउन आग्रह गरेको थियो।

यस्तै, साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भरी बुझाउन त्रिविले आग्रह गरेको छ। एक हप्ता थप हुँदा फारम भर्ने समय सीमा फागुन ७ गतेसम्म पुग्छ।

तर त्रिविले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यी संकायका वार्षिक परीक्षा भने फागुन १० गतेदेखि शुरू हुनेछ। यसमा त्रिविले गम्भीर लापरबाही गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै परीक्षार्थीहरू विरोधमा उत्रिरहेका छन्। 

यही तालिका संशोधनको माग गर्दै आइतबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीले प्रदर्शन गरेका थिए। ‘शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीको अधिकार सुनिश्चित गर, परीक्षा तालिका संशोधन गर, शैक्षिक माफिया होशियार’ भन्दै उनीहरूले विरोध प्रदर्शन गरे। उनीहरूले परीक्षा नियन्त्रक पुष्पराज जोशीको राजीनामासमेत मागेका थिए।

त्यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस कमिटी पोखराले विज्ञप्ति जारी गरेर परीक्षा तालिका तत्काल संशोधन गर्न माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्नातक तह व्यवस्थापन, विज्ञान र शिक्षा संकायमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरूको लागि परीक्षा फारम भर्ने समय सीमा फागुन ७ गतेसम्म राखेर फागुन १० गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिएको छ।’

कमिटीले त्रिविको यो निर्णय अव्यावहारिक रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। ‘परीक्षा फारम भर्ने अन्तिम मितिपछि ७० दिन वरपर परीक्षा शुरू गर्ने नियमलाई त्रिविले लत्याएको छ, परीक्षा तयारीको समय सीमा राखेर परीक्षा तालिका पुनः सार्वजनिक गर्न जोडदार माग गछौँ,’ विज्ञप्तिमा भनिएको छ।

परीक्षा तालिकाबारे त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक डा.घनश्याम ठाकुर आफूलाई जानकारी नभएको भन्दै पन्छिए। ‘यसबारे मलाई होइन, परीक्षा नियन्त्रकलाई सोध्नुस्,’ उनले भने। परीक्षा नियन्त्रक जोशीसँग फोन सम्पर्क नै हुन सकेन।

त्रिविमा रहेका अनेकौं बेथितिको सुधार कहिले?

त्रिवि यति समस्यामा मात्र जेलिएको छैन। त्यहाँ अनेकन् बेथिति छन्। त्रिविले परीक्षा लिइसकेको उत्तरपुस्तिका गायब पार्ने र पुनः परीक्षा लिएको घटना पुरानो भएको छैन।

परीक्षा लिएको वर्षाैंसम्म पनि परीक्षाफल सार्वजनिक हुँदैन। चुनाैती नै चुनौतीका चाङले घेरिएका शिक्षामन्त्री छन्। विद्यार्थीहरू न्यायकै लागि त्रिवि गेटमा धर्ना दिन बाध्य छन्।  

मन्त्रीको सचिवालय भन्छ : क्याबिनेट बैठकपछि कुरा हुन्छ

त्रिविमा भइरहेको बेथितिको सुधारबारे शिक्षामन्त्री खनालको सचिवालयका सदस्य लोचन पौडेलले क्याबिनेट बैठकपछि त्रिविका उपकुलपति (भिसी)सँग मन्त्री खनालले कुरा गर्ने जानकारी दिए।

‘क्याबिनेटपछि त्रिविमा भएका समस्या र समाधानबारे त्रिविका भिसीसँग कुरा गर्नु हुनेछ,’ उनले भने। शिक्षामन्त्री खनाल लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहेका कारण अधिकांशले शैक्षिक सुधार हुने अपेक्षा गरेका छन्। सन् २०१२ मा टिच फर नेपालको स्थापना गरेर मन्त्री खनाल शिक्षक उत्पादनमा सक्रिय भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.