|

जनकपुरधाम : कालीगण्डकीबाट झिकिएको देव शिलाको सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गरी भारत उत्तर प्रदेशको अयोध्याका लागि पठाइएको छ। ​बाजागाजा तथा झाँकीसहित सो देव शिला जनकपुरधामबाट अयोध्यातर्फ पठाइएको हो।

सरकारको निर्णयअनुसार कृष्णागण्डकीबाट झिकिएको सो देव शिलालाई जानकी मन्दिरमा शनिबार राति ल्याइएको थियो। जानकी मन्दिरमा आइतबार विशेष पूजा अर्चनापछि सर्वसाधारणलाई दर्शनका लागि राखिएकोमा सोमबार विहान फेरि विशेष पूजापछि अयोध्यातर्फ पठाइएको हो।

अयोध्यामा निर्माण हुने राम मन्दिरमा भगवान् रामको मूर्ति बनाउनका लागि धार्मिक यात्रासहित देव शिला नेपालबाट लगिएको हो। 

म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र र्‍यालीसहित सो शिला जनकपुरधाम ल्याइएको थियो।

१८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभ साइतमा शिला जनकपुरधाम हुँदै सोमबार बिहान विशेष पूजापछि अयोध्या पठाइएको हो।

सो देव शिला हस्तान्तरणका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि तथा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह अयोध्यातर्फ प्रस्थान गरेका छन्।

जनकपुरधामको परिक्रमा गर्दै देव शिला धनुषाको जटही नाका भएर पठाइएको छ। देव शिला भारत प्रस्थान गर्न लाग्दा ठाउँ ठाउँमा सर्वसाधारण भक्तजनहरूले पुष्पवृष्टिका साथै पूजा अर्चना गरेका थिए।

देव शिला जटही नाका भएर भारतको बिहार प्रवेश गरेपछि भारतीय सुरक्षाकर्मी तथा भक्तजनहरूले भगवान् राम तथा माता सीताको जयजयकार गर्दै स्वागत गरेका थिए।

जानकी मन्दिरले उक्त देव शिला उत्तर प्रदेशको अयोध्यामा बन्ने राममन्दिर निर्माण समिति तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष कार्यक्रमबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.