|

काठमाडौं : सरकारले आँखासम्बन्धी विशिष्ट र विशेषज्ञ उपचारलाई स्वास्थ्य बिमामार्फत प्रदान गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्खरै ल्याएको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति, २०७९—०८६ मा आँखा स्वास्थ्य सेवा स्वास्थ्य बिमामार्फत प्रदान गर्ने उल्लेख छ।

स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णय गर्दै आँखा स्वास्थ्य रणनीति, २०७९—०८६ स्वीकृत गरेका थिए।

हालै सार्वजनिक भएको उक्त आँखा स्वास्थ्य रणनीतिमा अबदेखि आँखा उपचारसम्बन्धी विशिष्ट र विशेषज्ञ सेवालाई स्वास्थ्य बिमामार्फत प्रदान गर्ने तयारी गरिएको उल्लेख छ।

यसका साथै हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालमा नेत्र सहायकको दरबन्दी सिर्जना गर्ने, २५ देखि ५० शय्यासम्मका जनरल अस्पतालमा अप्टोमेट्रिष्टको दरबन्दी सिर्जना गरी दृष्टि दोष, न्यून दृष्टि र आँखा सहायक सामग्रीलगायतका सेवा प्रवाह गरिने रणनीतिमा उल्लेख छ। 

१०० शय्या वा सोभन्दा धेरै शय्या भएका अस्पतालबाट विशेषज्ञ र विशिष्ट सेवाका लागि आवश्यक दरबन्दी सिर्जना गर्ने र थप्ने तथा देशभरका आँखा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको सञ्जाललाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्ने पनि रणनीतिमा उल्लेख छ।

रणनीतिमा स्थानीय तहका स्वास्थ्य शाखा/महाशाखा विभागमार्फत आँखाको हेरचाह‚ नियमित परीक्षण तथा आँखा दानसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नेसमेत उल्लेख गरिएको छ।

हरेक रणनीतिमा हरेक वर्ष विद्यालयमा विद्यार्थी दृष्टि परीक्षण गर्ने व्यवस्था गरिनेसमेत उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.