|

सर्लाही : मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकामा घर निर्माण गरी अतिविपन्न ४ परिवारलाई हस्तान्तरण गरिएको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत महेन्द्र नारायण निधी आवास योजनाले यहाँका अतिविपन्न ४ परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेको हो।

लालबन्दी–६ का वीरबहादुर क्यापछाकी, लालबन्दी–७ का बिशे राई, लालबन्दी–९ का शम्भु बलम्पाकी र लालबन्दी–१७ का लक्ष्मी थापाको परिवारले पक्की घर पाएका छन्। प्रदेशसभा सदस्य बेची लुंगेलीले ​दिएको जानकारीअनुसार ४ परिवारका लागि २ कोठाको पक्की घर, भान्साघर र शौचालय निर्माण गरिएको छ।

प्रत्येक घरमा चापाकल पनि जडान गरिनेछ। ४ वटै घर सर्लाही क्षेत्र १ (ख) की प्रदेशसभा सदस्य लुंगेलीबाटै उद्घाटन गरिएको छ। एक परिवारका लागि ५ लाख ५० हजार रूपैयाँ लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

आर्थिक अवस्था दयनीय रहेका तथा घाम पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहेका ४ गरिब परिवार पक्की घर पाएपछि खुशी भएका छन्। पानी चुहिने झुप्रोमा बस्दै आएकोमा प्रदेशसभा सदस्य लुंगेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुशी लागेको लालबन्दी-६ का वीरबहादुर क्याप्छाकीले बताए।

प्रदेशसभा सदस्य लुंगेलीका अनुसार महेन्द्र नारायण निधी आवास योजनाअन्तर्गत दोस्रो चरणमा लालबन्दी वडा नम्बर ५, ६ र १० मा थप ३ परिवारका लागि घर निर्माण गर्न पहल भइरहेको छ।

अन्य निर्वाचन क्षेत्रमा घर निर्माण गर्ने योजना सम्पन्न नभए पनि आफ्नो निर्वाचन क्षेत्रमा पहिलो चरणमा ४ परिवारका लागि घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको प्रदेशसभा सदस्य लुंगेलीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.