|

काठमाडौं : कोभिड १९ विरुद्धको खोप नहुँदा विदेश जानेहरूले बुस्टर डोज खोप लगाउन पाएका छैनन्।

पछिल्लो केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विदेश जाने भन्दै कोभिडविरुद्धको खोप लगाउन जाने दैनिक ६०/७० जना खोप लगाउन नपाएर फर्किएका हुन्।

अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार हाल केही मात्रामा भेरोसेल खोप भए पनि विदेश जानेहरूले कोभिसिल्ड तथा फाइजर खोप खोज्ने हुँदा अहिले उक्त खोप नभएकाले खोप लगाउन आएकालाई फर्काउनुपर्ने बाध्यता छ।

‘भेरोसेल बाहेकका अन्य कोभिडविरुद्धको खोप नहुँदा दैनिक ६० देखि ७० जनासम्मलाई हामी खोप नभएको भन्दै फर्काउन बाध्य छौँ। हामीले विभागसँग पनि खोप नभएको जानकारी गराइसकेका छौ’‚ भण्डारीले भने।

नेपालमा हालसम्म कोभिडविरुद्धको मोडर्ना, फाइजर, एस्ट्राजेनिका, कोभिसिल्ड, भेरोसेल, जन्सन एण्ड जन्सन कम्पनीका खोप प्रयोगमा ल्याइए पनि विदेश जाने धेरैले भेरोसेल बाहेकको खोप बुस्टर डोजका लागि रोजाइमा पर्ने गरेको भण्डारीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका अनुसार हाल केन्द्रीय भण्डार कक्षमा प्रयोग गर्न नमिल्ने गत चैतमा चीनको सहयोगमा आएको ४० लाख मात्रा सिनोभ्याक्स खोप मात्रै रहेको छ।

आपूर्ति शाखाका एक कर्मचारीका अनुसार हाल केन्द्रीय भण्डार कक्षमा रहेको १२ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने ३९ हजार डोज फाइजर खोपको म्याद आजैबाट सकिएको छ।

‘बाग्मती प्रदेशका १० वटा जिल्लाका लागि भनेर राखिएको बालबालिकालाई लगाउन मिल्ने ३९ हजार डोज फाइजर खोपको म्याद आजैबाट सकिएको छ। अहिले ४० लाख डोज सिनोभ्याक्स खोप भए पनि प्रयोग गर्न मिल्दैन यो बाहेकको अन्य खोप अहिले केन्द्रीय भण्डार कक्षमा छैन’‚ ती कर्मचारीले भने।

अब नेपालमा प्रयोग हुँदैन ४० लाख डोज सिनोभ्याक्स खोप

गत चैतमा चीनको सहयोगमा आएको ४० लाख मात्रा सिनोभ्याक्स खोप भण्डारकक्षमै थन्किएर बसेको छ। उक्त खोप ल्याएर प्रयोग नगरी टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको छ। सिनोभ्याक्स खोपको भने अझै एक वर्ष लगाउन मिल्ने म्याद रहेको छ।

व्यवस्थापन महाशाखा प्रमुख डा. सर्वेश शर्माका अनुसार सिनोभ्याक्स खोप पहिलो मात्र खोप नलगाएकाहरूलाई मात्रै लगाउन मिल्ने भए पनि नेपालमा हाल धेरैले खोप लगाएको हुँदा यो खोप प्रयोगमा ल्याउन नमिलेको हो।

‘यो खोप पहिलो डोज लगाएकालाई मात्रै लगाउन मिल्छ तर हाम्रोमा हाल धेरैले पहिलो डोज लगाएको हुँदा बुस्टरको रूपमा पनि दिन मिल्दैन’‚ डा. शर्माले भने।

सिनोभ्याक्स बुस्टरका लागि हालसम्म विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न अनुमति दिएको छैन।

सिनोभ्याक्स खोपलाई अन्य देशमा प्रयोगका लागि पठाउन भने सकिने उनले बताए।

‘हाम्रोमा त्यसै थन्किएर राख्न भन्दा खोप नपुगेका अन्य देशमा लगेर यो खोप प्रयोग गर्न मिल्छ। हामीले सोहीअनुसारको सुझाव पनि दिइरहेका छौँ, हाम्रोमा भने अब यो खोप प्रयोग हुँदैन‘‚ डा. शर्माले भने।

 एक हप्तापछि आउँदै १५ लाख डोज फाइजर खोप

खोप सकिएको अवस्थामा अबको एक हप्ताभित्र १५ लाख डोज फाइजरको नयाँ खोप आउने निश्चित भइसकेको महाशाखाले जनाएको कोभ्याक्स सुविधामार्फत फेब्रुअरी १, १३ र १६ गरी १५ लाख डोज फाइजर खोप आउने निश्चित भइसकेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.