|

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार राति ६ जना थुनुवा फरार भएको घटनामा तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले हिरासत कक्ष अधिकृत सहित ३ जना प्रहरीलाई निलम्बन गरेका छन्।

निलम्बित हुनेमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए।

साथै घटनाको छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेवारीमा नयाँ इन्सपेक्टरलाई छिट्टै पठाउने तयारी भइरहेको धनुषा प्रहरी प्रवक्ता दीपकबहादुर क्षेत्रीले जानकारी दिए।

‘इन्सपेक्टर बेचन यादवलाई जिम्मेवारीबाट मुक्त गरिएको छैन’, क्षेत्रीले भने‚ ‘नयाँ इन्सपेक्टर आएलगत्तै उनलाई जिम्मेवारीबाट मुक्त गरिने वा निलम्बन गरिने विषयमा निर्णय लिइनेछ।’

आइतवार राति इप्रका महेन्द्रनगरको हिरासत कक्षको भित्ता फोडेर ६ जना थुनुवा फरार भएका थिए। फरार भएकामध्ये मिथिला नगरपालिका वडा नम्बर-६ का २८ वर्षीय रोशन महतोलाई सोमबार साँझ ६ बजे पुन: पक्राउ गरिएको हो। बाँकी ५ जना अझै फरार छन्।

पक्राउ परेका रोशनमाथि हातहतियार तथा खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित प्रहरीले गत शनिबार पक्राउ गरेर सार्वजनिक गरेको थियो। फरार अन्य ५ जना थुनुवाको खोजी तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

क्षीरेश्वरनाथ नगरपालिका-५ बस्ने लागुऔषध मुद्दाका अभियुक्त ३० वर्षीय विनोदकुमार शर्मा, क्षीरेश्वरनाथ नगरपालिका-२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय अमित मण्डल, क्षीरेश्वरनाथ नगरपालिका-२ बस्ने राष्ट्रसेवक बाधा विरोध मुद्दाका २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका-२ बस्ने अभद्र व्यवहार मुद्दाका २५ वर्षीय हरिदीप सिंह र मिथिला नगरपालिका-६ बस्ने हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह अझै फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.