काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज भेट गरेका छन्। भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ।
भेटमा रास्वपा सभापति लामिछानेले सरकार गठन हुनुअघि सत्ता साझेदार दलहरूबीच पुस १० गते भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान अध्यक्ष ओलीसँग राखेका थिए।
भेटमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएको पनि लामिछानेको सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले आफ्नो नागरिकताको विषयमा गरेको फैसलालगत्तै लामिछानेले प्रतिनिधिसभाको सदस्यता र मन्त्री पद गुमाएका थिए। उनले फेरि नेपाली नागरिकता वहाली गरेपछि रास्वपाले गृहमन्त्री पाउनुपर्ने माग गर्दै नपाए सरकार नै छाड्ने चेतावनी दिँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।