|

गोरखपुर : भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला म‌ंगलबार राति गोरखपुर ल्याई पुर्‍याइएको छ।

धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्‍याइएको हो। 

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शिला आज अयोध्या पुर्‍याएर मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ। हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान् रामको बालस्वरूपसहितको मूर्ति बनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन्। 

‘जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शिलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमंग देखियो’, दासले भने।

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकापूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अतुलनीय योगदान पुगेको बताए। 

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्‍याइएको थियो। जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.