|

पर्वत : रातको वेला भए पनि चहकिलो बत्तीको अगाडि धूलो माथि माथि उडिरहेको थियो। ‘स्टेज’ मा दर्शक जान नसकुन् भनेर मैदानमा बारिएको तारको जालीसम्मै दर्शको भिड थियो। कोही जालीसँगै टाँसिएर घम्साघम्सी गर्दै नाचिरहेका थिए त कोही टाढैबाट भए पनि गीतको तालमा हात हल्लाउँदै नाचिरहेका थिए।

‘स्टेज’ मा कलाकारले भन्दै थिए, ‘केटा नाचे ज्यू ज्यानै फालेर, बूढा बसे सिलोकै हालेर। ट्यान्कुटी ट्यान्कुटी झ्याइँ। तिमी लोकन्ती बेहुलीको, म लोकन्ते बेहुलाको, माया बस्यो यहीँ।’ यही गीतमा दर्शकले मैदानबाट सँगसँगै गाएर साथ दिँदा ‘स्टेज’ मा हौसिएका देखिन्थे लोक तथा दोहोरी गायक बद्री पंगेनी।

उद्योग वाणिज्य स‌घ पर्वतको मूल आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा जारी सातौँ पर्वत महोत्सवको सातौँ दिन मंगलबारको मुख्य आकर्षणको रूपमा पंगेनी रहेका थिए। अपराह्नमा नै ‘स्टेज’ उक्लिएका उनले अघिपछि जस्तो भावुक गीत भने गाएनन्। मेला महोत्सवमा जाँदा ‘लाऊ चेली सिन्दूर लाऊ’ गीत गाएर दर्शकलाई  भावुक बनाउँदै अन्तिममा ‘डान्सीङ नम्बर’ पस्किने गरेका बद्रीले मंगलबार साँझ दर्शकहरू नाच्न मिल्ने गीतहरू मात्रै गाए।

तर पनि उनले आफ्नो प्रस्तुति भने समाजको क्रान्तिकै लागि समर्पित रहेको आफ्नो गीत ‘छोरी’ एल्बमको ‘मान्छे चल्यो भान्सा चलेन’ बाट सुरु गरे। दलित भनिने समुदायकी छोरी उपल्लो जात भनिने घरका छोरालाई चलेको भए पनि त्यही छोरीको भान्सा भने नचलेको वियोगान्त गीत उनले प्रस्तुत गरे। त्यसपछि भने ‘धानको चामल धानैको चिउरा’, ‘पानी सलल’, ‘ससुरालीमा, ‘रातो पछ्यौरी’ लगायतका आफ्ना सांगीतिक प्रस्तुति बद्रीले दिए। 

उनका एकल प्रस्तुतिपछिको ‘लाइभ दोहोरी’ मा पनि दर्शकहरूले रमाइलो माने। एक पक्षमा तारा थापा, जानुमाया गुरुङ र श्याम राना तथा अर्को पक्षमा आर.सी पौडेल, चित्रसागर श्रेष्ठ र पंगेनी रहेर गाएको रिले दोहोरीले पनि महोत्सवको सांगीतिक माहोल तताएको थियो। 

गत माघ ११ गतेबाट सुरु भएको महोत्सव माघ २१ गतेसम्म चल्ने छ। स्थानीय उत्पादन, कला र संस्कृति तथा कृषि उपजहरूको प्रदर्शनी लगायतका आकर्षण रहेको महोत्सवमा सातौँ दिनसम्म करिब ५० हजार दर्शकले अवलोकन गरेका उद्योग वाणिज्य संघ पर्वतका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक ठाकुर बी. पौडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.