|

सुर्खेत : रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्ष पुग्दा पनि बन्न सकेको छैन।

तीन वर्षमा पूरा गर्नेगरी २०७३ सालमा सुरु गरिएकोपुलको काम हालसम्म ५० प्रतिशत मात्र पूरा भएको छ। सडक डिभिजन चौरजहारीका इन्जिनियर प्रज्वल सुनारले फाउण्डेसनको डिजाइन परिवर्तन गरिएपछि काममा ढिला भएको उनले बताए ।  

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२/७३ मा गाराघाट पुल निर्माणको ठेक्का नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले लिएको थियो। नौ करोड ६१ लाख रुपियाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो।  

कन्स्ट्रक्सनका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम तीव्र पारेको बताए। तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भए पनि विभिन्न समस्याले गर्दा ढिलाइ भएको उनले बताए।

पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। विशेष गरेर वर्षायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.