|

 विराटनगर : विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा बढाउने योजनाअनुरुप आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याएको छ।

मोफसलका विमानस्थलमध्ये विराटनगरमा जडान गरिएको उक्त सिस्टम पहिलो भएको दावी गरिएको छ। नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप-महानिर्देशक हंशराज पाण्डेले  विराटनगर विमानस्थलमा प्रणालीको उद्घाटन गरे।   

विराटनगर विमानस्थलका निर्देशक रिन्जी शेर्पाले विमानस्थलमा आज (बुधबार) आधुनिक प्रविधिको जडान गरि सञ्चालनमा ल्याएको कन्भेयर प्रणालीले हवाई यात्रा सुरक्षित र सहज हुने बताए।

सिटिएच.एनटिई जेभी काठमाडौंले सो बेल्ट प्रणाली २ करोड ३ लाख ५१ हजार रूपैयाँ लागतमा जडान गरेको हो। विमानस्थलमा जहाजबाट यात्रु ओर्लेपछि लगेजका लागि पर्खनुपर्ने समस्या अन्त्यका लागि कन्भेयर बेल्ट थपिएको विराटनगर विमानस्थल प्रशासनले जनाएको छ।

आन्तरिक विमानस्थलको सेवा सुदृढ गर्दै लैजाने योजनाअनुरुप ३ विमानस्थलमा कन्भेयर बेल्ट निर्माण गर्ने योजना अगाडि सारिएको थियो। त्यसका आधारमा विराटनगर विमानस्थलको काम पहिलो भएको हो।

विमानस्थलमा विस्तार गरिने कन्भेयर बेल्ट ४० मिटर लम्बाइ रहेको छ र यसले एक घण्टामा २ हजार ४ सय ‘ब्यागेज’ क्लियर गर्नसक्ने क्षमता रहेको विराटनगर विमानस्थलका निर्देशक शेर्पाले जानकारी दिए।

उनका अनुसार विमानस्थलमा यो सेवा विस्तारसँगै यात्रुलाई ब्यागेज लिन सहज र छिटो हुनका साथै सरसफाईमा समेत सहयोग पुगेको छ। यता पहिलो पटक विराटनगरमा कन्भेयर बेल्ट सञ्चालनमा आएसँग धेरै सहज भएको हवाई यात्रु सुशीला राईको अनुभव छ।

विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडि बढाउन बोलपत्र खोलेको थियो। विराटनगर विमानस्थल प्रयोग गरी सन् २०२२ मा ७ लाख ५९ हजार ३५७ जना हवाई यात्रुको आगमन र प्रस्थान भएको कार्यालयले जनाएको छ।

उक्त्त अवधिमा आगमनतर्फ ३ लाख ७७ हजार ९८१ र प्रस्थानतर्फ ३ लाख ८२ हजार २७६ जना यात्रुले विमानस्थल प्रयोग गरेका छन्। विराटनगर विमानस्थलबाट विभिन्न कम्पनीका हवाई जहाजले उडान भर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.