|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाँडै गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरूलाई निर्देशन दिए।

'छिमेकी राष्ट्रहरूमा कोभिड आइसकेको छ‚ हाम्रोमा पनि आउनसक्छ। बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ। त्यसका लागि योजना बनोस्। मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु'‚ उनले भने।

उनले खरिद प्रक्रिया पारदर्शी बनाउन पनि निर्देशन दिए। 'खरिद प्रक्रियाबारे मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला'‚ उनले भने। विभागका कर्मचारीहरूलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए।

'विभाग जति प्रभावकारी हुन्छ। त्यति नै जनताप्रति उत्तरदायी हुन्छ। जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्'‚ उनले भने, 'त्यसैले तपाईंहरू अझै प्रभावकारी भएर लाग्नुस्। राम्रो काम गर्नुभएको छ। यसका लागि धन्यवाद दिन्छु। कमी कमजोरी पहिल्याएर हामी अझै जिम्मेवार भएर लाग्न आवश्यक छ।'

उनले थपे, 'जुन-जुन शाखाको जिम्मेवारी लिएको छ। त्यो पूरा गर्ने इच्छाशक्ति हुनुपर्छ अनि बल्ल मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छन्। त्यसै कारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस्।'

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए।

'उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं। तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ। त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र विरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। जनताले पसिनाबाट तिरेको राजस्वबाट हामीले किनेका सामग्री त्यसरी अलपत्र हुनुहुँदैन। यसतर्फ सजग रहनुस्।'

उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए। 'घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस्। सबै कुरा डिजिटलाइज हुनुपर्छ। मोबाइलबाट हेर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिने गरी परिवर्तन आउनुपर्छ'‚ उनले भने, 'बिरामी टिचिङ लग्यो, बेड हुँदैन। त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्‍ने अवस्था रहनु हुँदैन।'

प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए। 'यो क्षेत्रलाई सुधार्ने अठोटका साथ आएको छु। आम जनतालाई मेरो देशले मेरो स्वास्थ्यको जिम्मेवारी लिन्छ भन्‍ने ग्यारेन्टी गराउनुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.