|

लालबन्दी : सर्लाहीको बरहथवा नगरपालिका–११ का झण्डै पाँच सय परिवार करिब दुई महिनादेखि अन्धकारमा बस्न बाध्य छन्।

नेपाल विद्युत् प्राकिरणले बरहथवा–११ का हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँमा मंसिर २७ गते बत्ती काटेपछि त्यस क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन्।

सहकारीले बिजुली बत्तीको बक्यौता रकम चुक्ता नगरेको भन्दै बरहथवा वितरण केन्द्रले बत्ती काटिदिएको हो। उनीहरूले २०६७ सालदेखि विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत बिजुली बत्ती बाल्दै आएका थिए।

प्राधिकरणले बत्ती काटेदेखि स्थानीय बासिन्दा अहिले टुकी र मैनबत्तीको भरमा रात काट्दै आइरहेका छन्।

हीरापुरका उमेश दासले नियमित बिजुली महसुल बुझाउनेको समेत बत्ती काटिएको गुनासो गरे। ‘सुरुदेखि महसुल नतिर्नेले पनि बत्ती बाले, बत्ती त उनीहरूको मात्रै काटिनुपर्ने हो तर हामी खुरुखुरु पैसा बुझाउनेको समेत दुई महिनादेखि बत्ती काटिएको छ’, दासले गुनासो गर्दै भने, ‘हामी अन्यायमा परेका छौँ। अन्धकारमा रात काट्नुपरेको छ। बालबच्चाले पढ्न पाएका छैनन्।’

अर्का स्थानीय रघुनाथ महतोले महिनैपिच्छे महसुल बुझाएको रसिद भए पनि दुई महिनादेखि सबैको बत्ती काटिदिँदा समस्या भइरहेको गुनासो गरे।

सहकारी संस्थाका पदाधिकारीले सुरुदेखि नै हेलचक्र्याइँ गर्दा आफूहरू अन्धकारमा बस्नुपरेको महतोको गुनासो छ। उनले गाउँमा बिजुली नहुँदा अन्यत्र रहेका आफन्तसँग कुराकानी गर्न पाएका छैनन्।

‘अहिलेको युगमा सबैजना फोन, इन्टरनेटमार्फत परिवार तथा आफन्तसँग सम्पर्कमा हुन्छन्। यहाँ त दुई महिनादेखि बत्ती छैन’,गाउँलेको पीडा पोखे, ‘पैसा नतिर्नेको मात्रै बत्ती काटेको भए हुन्थ्यो, सबैको बत्ती काटी दुई महिनासम्म अन्धकारमा राखिएको छ।’

बिजुली नहुँदा बरहथवा नगरपालिका–११ स्थित वडा कार्यालयमा अनलाइनबाट हुने सम्पूर्ण काम प्रभावित छन्। ‘बत्ती नरहेकाले अनलाइनबाट हुने घटना दर्ताका लागि सेवाग्राहीलाई नगरपालिका कार्यालयमै पठाइरहेका छौँ’, वडासचिव धीरेन्द्र रायले भने, ‘सेवाग्राही आफैँले आफ्नो विवरण पञ्जीकरण शाखामा गएर ‘अनलाइन दर्ता’ गराएर ल्याउनु हुन्छ, त्यसपछि हामीले यहाँबाट उक्त कागजातमा हस्ताक्षर गरेर दिने गरेका छौँ।’

विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष रामकृष्ण चालिसेले कतिपय ग्राहकले पैसा नबुझाइदिँदा यो अवस्था आएको बताए।

चालिसेले गत वर्ष प्राधिकरणको थोक मिटरमा उठेको अंकअनुसार सम्पूर्ण बक्यौता चुक्ता गरे पनि पछि फेरि बक्यौता रकम देखाइएको बताए।

‘हामीले सम्पूर्ण रकम चुक्ता गरेर सरकारीमा जाने भन्यौँ, त्यसपछि प्राधिकरणले थोक मिटर काठमाडौँमा लगेर परीक्षण गर्दा दुईतीन महिनादेखि मिटर बिग्रिएको रहेछ भन्दै बक्यौता देखायो’, चालिसेले भने, ‘गाउँलेबाट पैसा उठाएर गत वर्ष पुसमै चुक्ता गरिसकेका थियौँ, पछि फेरि बक्यौता देखाए। हामीले कहाँबाट ल्याएर तिर्नु?’

उनले सहकारीले कुनै पनि किसिमको आर्थिक अपचलन नगरेको दावी गरे। ‘३१७ घरमा मिटर थियो, त्यसमध्ये नियमित पैसा दिने ३०-३५ जना मात्रै हुन्थे। प्राधिकरणले हामीकहाँ बक्यौता हुँदा हामीलाई मिटर दिँदैनथ्यो। हामीले ग्राहकलाई अन्धकारमा बस्न नपरोस् भनेर घाटा, नाफा जे भए पनि ‘सब मिटर’ राखेर भए पनि बत्ती बाल्न दिएका थियौँ’, चालिसेले भने, ‘पैसा बाँकी राख्नेहरूले पछिसम्म पनि पैसा नदिँदा यो अवस्था आएको हो।’

प्राधिकरणले यसअघि पनि वेलावेला गाउँमा आएर बत्ती काट्दा स्थानीयले पैसा उठाएर केही बक्यौता रकम तिरेर बत्ती सञ्चालन गर्न लगाउने गरेका थिए। यो पटक भने मंसिर २७ गतेदेखि प्राधिकरणले बत्ती काटेको छ।

ग्रामीण विद्युतीकरण असफल भएपछि अब भने सोझै प्राधिकरणबाट घरघरमा मिटर राखेर प्राधिकरणले नै ग्राहकको घरघरमा पुगेर मिटर रिडिङ गर्ने व्यवस्था मिलाउन लागिएको बरहथवा–११ का वडाध्यक्ष नवराज राईले बताए।

वडाध्यक्ष ग्रामीण विद्युतीकरण गर्ने सहकारीले हरहिसाब, लेखापरीक्षण केही नगरेको र संस्था नै लथालिंग अवस्थामा रहेकाले प्राधिकरणकै माध्यमबाट बिजुली मिटर प्रयोग गरी महसुल संकलनको व्यवस्था मिलाउन लागिपरेको बताए।

उनले सहकारी संस्था र त्यसका पदाधिकारी तथा व्यवस्थापकको त्रुटिले स्थानीयले सास्ती खेप्नु परेको बताए। सहकारीका पदाधिकारीलाई संस्थाको घाटा, नाफा के छ ? भनेर वडामै बोलाएर छलफल राख्दा कुनै हरहिसाब नै देखाउन नसकेको वडाध्यक्ष राईको भनाइ छ।

समितिका पदाधिकारीलाई पटक पटक हरहिसाब सार्वजनिक गर्न माग गर्दा समेत हिसाबकिताब केही नरहेको बताउनुले पनि आर्थिक अनियमितता भएको वडाध्यक्ष राईले आरोप लगाएका छन्।

वडाध्यक्ष राईले केही दिनभित्रै स्थानीय बासिन्दाको घरमा प्राधिकरणकै मिटर राखेर बत्ती जोड्ने पहल गरिरहेको बताए।

नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले बरहथवा–११ को सामुदायिक विद्युतीकरणलाई प्राधिकरणमै गाभ्ने प्रक्रिया अघि बढेको जनाएको छ।

हाल सहकारीको नाममा रहेको १३ लाख रुपैयाँ नगरपालिकाले तिर्ने सहमतिपछि उक्त गाउँमा मिटर जडान गरेर बत्ती सञ्चालन गर्ने तयारी भइरहेको वितरण केन्द्रका प्राविधिक प्रमुख छोटेलाल यादवले जानकारी दिए।

‘२३ लाख रुपैयाँ बक्यौतामध्ये १० लाख रुपैयाँ स्थानीय बासिन्दाले नै उठाएर बुझाएका छन्। बाँकी १३ लाख नगरपालिकाले तिर्ने भनी कार्यपालिका बैठकबाट भएको निर्णय प्राप्त भएको छ’, वितरण केन्द्रका प्राविधिक प्रमुख यादवले भने, ‘अब त्यहाँ बिजुली सञ्चालन गर्न स्थानीयलाई धमाधम मिटरको फर्म भराइरहेका छौँ, केही दिनभित्रै मिटर जोडी बत्ती बाल्ने व्यवस्था गर्नेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.