|

धनगढी : कैलालीको धनगढी बसपार्कमा एक युवक मृत फेला परेका छन्। बिहीबार बिहान भारतबाट धनगढी पुगेका मोहन्याल गाउँपालिका–१ का ३९ वर्षीय प्रकाश घर्तीमगर दिउँसो मृत भेटिएका हुन्।

बसपार्कस्थित चन्द्रदीप मिलन बोक्टान होटलमा आराम गर्न भन्दै बसेका प्रकाश मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) वेदप्रकाश जोशीले घर्तीमगर होटलको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए।

उनकाअनुसार घर्तीमगर बिहीबार बिहान ९ बजे भारतको रत्नागिरीबाट धनगढी पुगेर होटलमा शौचालय गएका थिए। शौचालयबाट धेरै बेरसम्म नफर्किएपछि उनीसँगै आएका बर्दगोरिया गाउँपालिकाको बौनियाका छत्रबहादुर चन्दले प्रहरीलाई खबर गरेका थिए।

मानसिक सन्तुलन ठिक नभएका घर्तीमगरसँग चन्दको बाटोमै भेट भएको थियो। मृतककी श्रीमती गंगादेवी घर्तीमगरकाअनुसार उनी गत मंसिरमा कामको खोजीमा भारत गएका थिए। 

मानसिक स्वास्थ्य बिग्रिएपछि भारतबाट उनी कार्यरत आँपको बगैँचाका मालिकले घर पठाएका थिए। यसअघि गंगादेवी पनि श्रीमानसँगै भारतमा काम गर्दै आएकी थिइन्। मृतकका १७ वर्षीय र १२ वर्षीय दुई छोरा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.