ठेकेदारले लगे साढे दुई करोड

|

सुर्खेत :  जाजरकोट बारेकोट गाउँपालिकामा १५ शय्याको अस्पतालको शिलान्यास गरेको १८ महिना पुग्यो, तर अहिलेसम्म अस्पतालको जग समेत खनिएको छैन।

गाउँपालिका, कर्मचारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण  भवन निर्माण हुन नसकेको हो। भवन निर्माणमा जग्गाको समस्या बताउँदै आएको ठेकेदार कम्पनीले भने दुई चरणमा गरी साढे दुई करोडभन्दा बढी रकम लिइसकेको छ। 

१५ शय्याको अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले पहिलो चरणमा ८० लाख रकम पेस्की र दोस्रो चरणमा थप करोड ८१ लाख रुपैयाँ पेस्की लिइसकेको छ। सम्झौता अनुसार कुल लागतको १० प्रतिशत बजेट अग्रिम पेस्की लिएको हो। साढे दुई करोडभन्दा बढी रकम लगिसकेको ठेकेदारले भने गाउँपालिकाले जग्गा उपलब्ध गराउन नसकेका कारण भवन निर्माणमा ढिलाइ भएको दाबी गरेको छ।

गाउँपालिकाले जग्गा नदिएर भवन बनाउन अवरोध गरेको ठेकेदार खानी/धुलिखेल/जेके बिल्डर्स जेभी बताउँछ। ठेकेदार कम्पनीका अनुसार भवन बनाउन करिब ११ कट्ठा जग्गा आवश्यक पर्छ। तर हाल सम्म लिम्सा स्वास्थ्य चौकीको नाममा ४ रोपनी मात्र जग्गा छ। भवन निर्माण गर्न अस्पतालकै नाममा जग्गा धनीपुर्जा हुनुपर्ने कानुनी व्यवस्था छ। यसले गर्दा भवन निर्माणमा ढिलाइ भएको हो।

स्थानीय तहको हचुवाको निर्णयले समस्या भएको ठेकेदार बताउँछन्। तत्कालीन गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अस्पतालको जग्गा प्राप्त नगरी भवन निर्माणको टेण्डर गराएका थिए। तर गाउँपालिकाले भने ठेकेदारकै कारण भवन निर्माणमा ढिलाइ भएको जनाएको छ। 

भवन निर्माणका लागि जग्गाको खासै समस्या नभएको बारेकोट गाउँपालिका उपाध्यक्ष निशान गिरीले बताए। ‘अस्पतालको भवन बनाउन पर्याप्त जग्गा छ’ उनले भने, ‘तर ठेकेदारले तीन पटक म्याद थप गर्दा समेत काममा चासो दिएन।’ ठेकेदारको लापरबाहीका कारण काम हुन नसकेको उनको दाबी छ। कर्मचारी समेत ठेकेदारसँग मिलेर भवन निर्माणमा ढिलाइ गरेको उनको आरोप छ।

स्वास्थ्य शाखाप्रमुख रामबहादुर रोकायले सार्वजनिक जग्गा पर्याप्त नभएका कारण भवन निर्माणमा ढिलाइ भएको बताए। गाउँपालिकाले यही पुस २८ गतेमात्रै स्वास्थ्यको भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि विद्यालयको जग्गा प्राप्ति गर्ने निर्णय उनले बताए।

लिम्सामा १५ शय्या अस्पतालको भवन निर्माणका लागि कुल लागतः २३ करोड बजेट ‘स्टमेट’ गरिएको थियो। ठेकेदारले घटेर १८ करोड ३९ लाख ४९ हजार २०६ रुपैयाँमा निर्माणको ठेक्का लिएको गाउँपालिका इन्जिनियर केशव श्रेष्ठले बताए।

भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार १४ गते ठेकेदारसँग सम्झौता गरेको थियो। सम्झौतामा दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ। तर सम्झौता अवधि सकिन पाँच महिना मात्र बाँकी रहँदा भवन निर्माण सुरु हुन सकेको छैन। तत्कालीन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले अस्पतालको भवनको शिलान्यास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.