अझै १ करोड ५० लाख थान छाप्न बाँकी

|

काठमाडौं : शैक्षिक सत्र २०८० का लागि जनक शिक्षा सामाग्री केन्द्रले ६२ लाख थान नयाँ पुस्तक छापिसकेको छ। सरकारी स्वामित्वको जनक शिक्षाले यतिखेर धमाधम बाँकी पुस्तक छापिरहेको जनाएको छ। 

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले हालसम्म ६२ लाख थान पुस्तक छपाइ भइसकेको जानकारी दिए। उनका अनुसार दैनिक १ लाख ५० थानसम्म पुस्तक छपाइ भइरहेको छ।

‘तीव्र गतिमा पुस्तक छपाइ भइरहेको छ, अहिलेसम्म छपाइमा केही समस्या छैन,’ उनले भने। उनका अनुसार अहिले जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको पुस्तक छाप्दै आएको छ। कक्षा १ देखि ३ सम्मको भने निजी कम्पनीले छाप्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

१ करोड ५० लाख थान छाप्न बाँकी

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका सूचना अधिकारी आचार्यले अब १ करोड ५० लाख थान पुस्तक छाप्न बाँकी रहेको जानकारी दिए। उनका अनुसार नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले २ करोड १२ लाख थान पुस्तक छाप्नु पर्नेछ। उनले यो बाँकी रहेको पुस्तक समयमै छाप्ने दावी गरे। केन्द्रमा ३ वटा नयाँ रंगीन छपाइ गर्ने वेब मेसिन जडान गरिएको छ।

‘पुस्तक नपाए प्रादेशिक कार्यालयमा सम्पर्क गर्नु’ 

यस वर्षको नयाँ शैक्षिक सत्र शुरू भएको ८ महिना भइसकेको छ। कोभिड–१९ का कारण कोर्स नसकिएपछि वैशाखबाट शैक्षिक सत्र शुरू हुने भए पनि यस वर्षको पठनपाठन जेठ १ गतेबाट शुरू भएको थियो। तर अहिले पनि केही ठाउँमा नयाँ पुस्तक नपुगेको गुनासो छ। पुस्तक नपुगेको भए केन्द्र तथा प्रदेश कार्यालयहरूमा सम्पर्क गरि पुस्तक लिन जनक शिक्षाले आग्रह गरेको छ।

‘केन्द्रले शैक्षिक सत्र २०७९ को लागि आवश्यक कक्षा १० सम्मका पाठ्यपुस्तक छपाइ गरि सम्बन्धित कार्यालयमार्फत विद्यालयहरूमा पठाइसकिएको छ,’ जनक शिक्षाले जारी गरेको सूचनामा भनिएको छ, ‘कथम् कदाचित विद्यालयमा पुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको भएमा तुरून्त केन्द्र तथा केन्द्रका प्रादेशिक कार्यलयहरूमा सम्पर्क गर्नु हुन अनुरोध छ।’

जनक शिक्षाले कक्षा ११ र १२ का पुस्तक अभाव भएको सम्बन्धमा गुनासो आएको भन्दै उक्त कक्षाका पुस्तकहरू पनि केन्द्र तथा प्रादेशिक कार्यालयमा मौज्दात रहेकाले बिक्रेता तथा विद्यार्थीहरूले सम्पर्क राखी पुस्तक खरिद गर्न आग्रह गरेको छ।

जनक शिक्षाका अनुसार केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा सम्पर्क गर्न सकिनेछ। लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक खरिदका लागि सम्पर्क गर्न सकिनेछ।

पुस्तक समयमा पुग्छ : जनक शिक्षा

२०८० बाट शैक्षिक सत्र नियमित हुँदै छ। शिक्षा मन्त्रालयले वैशाख १ गतेदेखि प्रारम्भ भइ चैत मसान्तसम्म शैक्षिक सत्र तोकेको छ। तर वर्षौंदेखि समयमा विद्यार्थीको हातमा पुस्तक नपुगेको समस्या रहँदै आएकाले यस वर्ष पनि सम्बन्धित ठाउँमा नपुग्ला कि भनेर चिन्ता व्यक्त गर्न थालेका छन् विद्यार्थी र अभिभावक।

अर्कातर्फ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनक शिक्षाले नै कक्षा १ देखि ५ सम्मको पुस्तक छाप्छौँ भन्दाभन्दै पनि सरकारले निजी प्रकाशकलाई छाप्न दिने निर्णय गरेपछि यसविरूद्ध आन्दोलन भइरहेको छ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत बुधबार विरोध प्रदर्शन गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाको राजीनामा माग गरेको थियो।

गत शुक्रबार पनि रत्नराज्य क्याम्पस परिसरमा शिक्षामन्त्री शिशिर खनालले यो निर्णय अव्यावहारिक गरेको भन्दै उनीहरूले मन्त्री खनालको पुत्ला दहन गरेका थिए।गत सोमबार राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ।

समितिको बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीका हातमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

उक्त बैठकमा शिक्षामन्त्री खनालले विद्यार्थीहरूलाई अन्यायमा पर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाए। यता जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका सूचना अधिकारी आचार्यले पनि यस वर्ष समयमा पुस्तक पुग्ने दावी गर्छन्।

‘हामीले पुस्तक छापिएपछि नियमित सम्बन्धित ठाउँमा पठाइहाल्छौँ, त्यसैले नयाँ शैक्षिक सत्रमा समस्या हुँदैन, पुस्तक पुग्छ,’ उनले भने। पुस्तक छापिसकेपछि जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाउने र सम्बन्धित निकायमा किताब पुर्‍याउने गरेको जनक शिक्षाको दावी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.