|

विराटनगर : कुनै समय घरको चौघेराबाट पाइला झिक्न धेरै सोच्न पर्ने अवस्थामा रहेका महिलाहरू पछिल्लो समय अवसरसँगै आर्थिक पाटो मजबुत बनाउन घरबाहिर निस्कन थालेका छन्। जीवनमा आइपर्ने अनेक समस्या पन्छाएर‚ व्यवस्थापन गर्दै उनीहरू अगाडि बढिरहेका छन्।

त्यसो त घरगृहस्थीको जिम्मेवारी एउटा राज्य सञ्चालनभन्दा कम नहुँदो हो। यद्यपि केही महिला राजनीतिक, शैक्षिक, औद्योगिक, व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

परिवारको माया, साथबाट एउटी महिलाले चालेका कदमप्रति परिवारले बनाउने धारणाका साथै समाजले हेर्ने दृष्टिकोण र व्यवस्थापकीय पक्षलाई अझ गहन बनाउँछ। अक्सर महिलाहरूलाई घरगृहस्थीको ‘गृहमन्त्री’ भन्ने पनि गरिन्छ।

गृहमन्त्रीको अनौपचारिक ट्याग पाएका महिलालाई गृह व्यवस्थापनसँगै व्यावसायिक पाटो सन्तुलित ढंगबाट अगाडि बढाउन चुनौतीपूर्ण यात्रा भए पनि निरन्तरता र मिहेनतसाथ अघि बढ्नुपर्ने र पछि हट्न नहुने विराटनगरका उद्यमी महिलाहरूको बुझाई छ।

घरपरिवारसँगै आफ्नो व्यावसायिक यात्रा अगाडि बढाईरहेकी प्रमिला डंगोल (आले) विन च्याप्टर मोरङकी सदस्य हुन् भने विराटनगर-७ शहीद मार्गमा रहेको प्रमिला हस्तकालाका सञ्चालकसमेत हुन्। उनी १७ वर्षअघिदेखि यो पेसामा आबद्ध छिन्।

एकल महिला त्यसमा पनि समाजले बनाउने तितामिठा धारणासँग जुध्दै आफ्नो व्यावसायिक यात्रामा निरन्तर अघि बढिरहेकी प्रमिलाका लागि घरगृहस्थी सँगै आफ्नो पेसालाई एउटा लयमा लिएर हिँड्न सहज नहुँदो हो। तर चुनौतीमा अवसर खोज्ने उनको फरक सोचले पनि आफूलाई यो पेसामा बलियो स्थान दिन सकेको सुनाउँछिन्।

त्यसो त संस्थालाई घरेलु र नगरपालिकामा दर्ता गरेर संस्थागत नगरेसम्म उनको कलालाई नजिकबाट चिन्ने मान्छे कोही नभएका धेरै अनुभवहरू छन्। जब संस्था दर्ता गरिन् त्यसदिनयता धेरैले उनको हातले बनाएका सामानको तारिफ गर्ने र किन्ने धेरै ग्राहक पाएको उनी सुनाउँछिन्।

‘मैले संस्था दर्ता गरेर सञ्चालनमा ल्याएको करिब १० महिना भयो, दर्ताबिना १७ वर्ष काम गरेँ। त्यतिन्जेल ग्राहक सीमित थिए,’ उनले भनिन्, ‘जब  संस्थागत रुपमा अगाडि बढेँ धेरै ग्राहकहरू सम्पर्क गरेर आउनुहुन्छ।’

उनी आफूले बनाएका सामाग्री नेपालका विभिन्न जिल्लादेखि विदेशी मुलुकसम्म निर्यात गर्छिन्। उनले उलनबाट तयार हुने सामाग्रीहरू बिक्री वितरण गर्दै आइरहेकी छिन्। उलन पोशाक चिसो मौसममा मात्रै प्रयोग हुने हुँदा यसलाई सदाबहार बनाउन उलनबाट की-रिङ, कोठा डेकोरेशनका सामानहरू बनाउँदै आइरहेको उनले बताइन्।

‘ऊनबाट बनाइएको सामाग्रीहरू चिसो मौसममा मात्रै प्रयोग र वितरण गर्न सकिने भएकाले यसलाई जुनसुकै समय प्रयोग गर्न अन्य कन्सेप्टमा गएकी छु,’ उनले सुनाइन्‚ ‘कोठा सजाउने सामाग्रीहरू, चाबी झण्ड्याउने की-रिङहरू बनाउन थालेकी छु।’

उनले ऊनका विविध सामाग्री कोरोनाका समय घरैमा बसेर सिकेको बताइन्। युनिसेफमा ०५४ सालमा काम गर्दै धेरै अनुभव संगालेकी उनले २४ वर्ष कपडामा मात्रै सुन्दर चित्र भरिन्।

उनले कपडामा विभिन्न आकार कोरेर रङमात्र भरिनन्‚ आफूसँगै अरु महिलालाई पनि आत्मनिर्भर बन्ने हौसलाको रङ भर्ने काम गरिन्। अर्थात् उनले अरुलाई पनि तालिम दिँदै आएकी छिन्। अहिले उनको संस्थामा ५ जना महिलालाई आफैँ तालिम दिएर रोजगारी दिएकी छिन्।

एउटा महिला सफल र सक्षम हुन परिवारको दर्बिलो साथ हुन जरुरी रहेको बताउने उनी आफ्नो लगनशीलतालाई महत्वपूर्ण पाटो रहेको बताउँछिन्। २ वर्ष कोभिडले शिथिल बनाएको व्यवसाय अहिले अवस्था सामान्यमा फर्किएसँगै उनको व्यवसायले पनि पुरानो लय पक्डेको उनले बताइन्। यो पेसाले मिहेनतका साथ काम गर्न सके हप्तादिनमा दशहजार रूपैयाँसम्म कमाउन सकिने उनको भनाई छ। 

बुढीगंगा-२ स्थित अञ्जना ब्याग सेन्टर तथा सिलाई कटाई प्रशिक्षण केन्द्रकी सञ्चालक अञ्जु राई बस्नेत पनि एक सफल उद्यमी हुन्। हाते कल हुँदै सिलाई कटाईबाट व्यावसायिक यात्रा आरम्भ गरेकी उनले अहिले ६ जना महिलालाई आफ्नै कम्पनीमा रोजगारी दिएकी छिन्।

अञ्जुले ढाका, अल्लोबाट ब्याग, पर्स, झोला‚ एप्रोन लगायतका सामाग्रीहरू उत्पादन गरेर बिक्री वितरण गर्दै आइरहकी छिन्। दुई दशकदेखि यो यात्रामा अनवरत हिँडिरहेकी अञ्जु आफैँले तयार पारेर उत्पादन गरेको सामाग्री बिक्री वितरण गर्न थालेको १२ वर्ष पुगेको छ।

‘शुरुवातका दिनहरूमा निक्कै गाह्रो थियो, हाते कलबाट शुरु गरेको अहिले विभिन्न अनुदानले अलिक सहज भएको छ,’ उनले सुनाइन्, ‘दुईजनाबाट शुरु गरेको अहिले ६ जनालाई रोजगार दिएको छु, कोही घरैबाट काम गर्नुहुन्छ कोही यहीँ आएर काम गर्नुहुन्छ।’

उनले आफ्नो ब्राण्डलाई धनकुटा, संखुवासभा, मोरङका विभिन्न स्थान र काठमाडौंसम्म पुर्‍याउने गरेकी छिन्। व्यवसायमा सफलता प्राप्त गर्न आफू के गर्ने भन्ने विषयमा पहिले धारणा तयार पार्नु जरुरी रहेको बताउँछिन्।

काम गर्ने मान्छेको मन, लगनशीलता र निरन्तरता महत्वपूर्ण पाटो रहेको बताउँदै उनी भन्छिन्, ‘आफूले उत्पादन गरेको सामान बिक्री हुन्छ, त्यसलाई ब्राण्ड बनाउन सक्नुपर्छ।’

परिवारको हौसला, साथले पनि काममा केन्द्रित हुने वातावरण मिल्ने उनको बुझाई छ। कोभिडको समयमा व्यवसाय धरापमा परेको भए पनि त्यसलाई व्यवस्थापन गर्न महिला दिदीबहिनीहरूलाई समेटेर मास्क उत्पादन गरेकाले खासै आर्थिक अभाव बेहोर्नु नपरेको उनको अनुभव छ।

कोभिड महामारी सामान्य अवस्थामा आएदेखि व्यवसाय आफ्नै लयमा फर्किंदै गरेको समेत उनले सुनाइन्। शिप सिके जुनसुकै बेला पनि काम लाग्न सक्ने र आफूलाई आर्थिक रुपमा सबल बनाउने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.