|

सल्यान : सल्यानमा संघ र प्रदेश सरकारबाट सञ्चालित सडक र पुलका अधिकांश योजना अलपत्र परेका छन्। संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय र प्रदेश सरकारअन्तर्गत पूर्वाधार कार्यालयबाट सञ्चालित अधिकांश योजना अलपत्र छन्।

सरकारी निकायको लापरबाही र ठेकेदारको ढिलासुस्तीका कारण वर्षौदेखिका योजना अलपत्र परेपछि नागरिकलाई सास्ती हुने गरेको छ।

सडक डिभिजन कार्यालयबाट आर्थिक वर्ष २०७३।०७४ मा संघीय सरकारको ६ करोड ८० लाख लागतमा जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्ने पुल अलपत्र परेको छ। शारदा नदीमाथि बनाउन थालिएको उक्त पुल एसबी/सूर्य जेभीले अहिले अलपत्र छोडेको हो।

४ पटक म्याद थप्दा समेत पुल नबनाएको छत्रेश्वरी गाउँपालिका–७ का वीरबहादुर बुढाथोकीले बताए। लामो समयसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न समस्या भएको उनले बताए।

यस्तै शारदा नगरपालिकाको श्रीनगरबाट स्यानीखाल जोड्ने शारदा नदीमाथिकै पक्की पुल बनाउन ९ करोड रुपैयाँमा जलजला/जयमा/स्वर्गद्वारी निर्माण कम्पनीले काम गर्ने जिम्मा लिएको थियो।

कडा चट्टानमा प्वाल पार्न नसकिएको भन्दै यो काम पनि अलपत्र परेको शारदा नगरपालिका–१५ स्यालपानीकी हीराकुमारी कुँवरले बताइन्। पुल नबन्दा श्रीनगर बजार पुग्न ५ मिनेट लाग्ने बाटोमा आधा घण्टा समय लाग्ने बताइन्।

सल्यानमा संघीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालयबाट भएका २ वटा पक्की पुल र २५ वटा सडकसहित २७ वटा ठेक्का रहेकोमा अधिकांश अलपत्र छन्। प्रदेश सरकारबाट सञ्चालनमा रहेका ९ वटा पक्कीपुल र सडकका काम पनि अलपत्र छन्।

ठेकेदारको लापरवाहीलाई सरोकारवाला निकायले बेवास्ता गर्दा यी योजना अपूरा हुने गरेको शिक्षक सुलेमान सुनारले बताए। ठेक्काको काम अलपत्र पर्दा सामान्य नागरिकको सास्तीप्रति कोही जिम्मेवार नभएको उनले बताए। समयमै योजना सम्पन्न नहुँदा एकातिर जिल्लाको विकास गति जस्ताको तस्तै छ भने अर्कोतिर जनता लाभ लिनबाट वञ्चित भएको उनले बताए।

विभागबाटै म्याद थप भइरहने भएकाले ठेकेदारलाई ताकेतामात्र गर्न सक्ने र कारबाही गर्न नमिल्ने सडक डिभिजन कार्यालयले दाङले जानकारी दिएको छ। ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि अटेरी गर्ने गरेको कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले बताए।

पूर्वाधार कार्यालय सल्यानले भने केही समय कार्यालय प्रमुखविहीन भएकाले प्रदेशस्तरीय योजनाका काममा ढिलाइ भएको जनाएको छ। निमित्त कार्यालय प्रमुख इन्जिनियर रूपबहादुर रावतले रोकिएका योजना केही शुरु भइसकेको र केही शुरु गर्ने प्रक्रियामा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.