कृषि उत्पादनमा चासो

|

पर्वत : कुश्मा बजारमा सातौँ पर्वत महोत्सवमा सिस्नोको धूलोदेखि सिस्नो प्रशोधन गरी बनाइएको अल्लोबाट बनेका कपडा राखिएका छन्।

महोत्सवमा रहेका २५० वटा स्टलमध्ये केहीमा घरेलु उत्पादन राखिएका छन्। कृषि ज्ञानकेन्द्र कार्यालयले त ‘स्टल’ लिएर दर्शकलाई कृषि उत्पादन देखाउने र चासो लिएर बुझ्न आएकालाई बुझाएर पठाउने गरेको छ।

प्रगतिशील अल्लो समूहले कृषि ज्ञानकेन्द्रको नजिकै ‘स्टल’ राखेको छ। यहाँ सिस्नोबाट बनेका ‘पर्स’, खादा, पछ्यौरी, झोला, जुत्ता, चप्पल, गलबन्दी, लगायतका वस्तु छन्। किन्नेभन्दा पनि ती सामग्री बनाउने तरिका बुझेर फर्किनेको सङ्ख्या अधिक रहेको याममाया पुन बताउँछिन्।

व्यावसायिक उद्योगबाट बनेका कपडा तथा अन्य सामग्रीको तुलनामा अल्लोबाट बनेका तथा घरमा तान लगाएर बुनेका कपडाको मूल्य महँगो हुने भएका कारण किन्नेभन्दा बुझ्ने धेरै भएको उनको भनाइ छ।

‘सिस्नोबाट धागो बनाएर त्यसबाट कपडा बनाउन कम्ता मेहनत लाग्दैन। मिहिनेत अनुसार अरू कपडाभन्दा यो महँगो हुन्छ। बिस्तारै यसको माग बढ्दो देखिन्छ। बजारमा अल्लोका कोट लगाएका झोला भिरेका मान्छेहरू देखिन थालेका छन्’, पुन भन्छिन्, ‘यहाँ हामीले बेचौँला भन्दा पनि अल्लोबाट बनेका सामग्रीको प्रचारप्रसार गर्न सहयोग पुग्ला। यसको बारेमा धेरै दर्शकले बुझ्नुहोला भनेर आएका हौँ। धेरैले यो कसरी बन्यो? बन्दो रहेछ है? लगाउँदा कस्तो हुन्छ? सामग्री बनाउँदा कति दुःख हुन्छ? भनेर धेरै कुरा बुझ्ने गर्नुभएको छ।’

कसैलाई चिनोको रूपमा पठाउनुपर्ने, महोत्सवको सम्झनाका रूपमा रहने तथा अल्लोबाट बनेका सामग्री घरमा सजाउन पनि उत्तम हुने भएकाले व्यापार पनि राम्रै भइरहेको उनको भनाइ छ।

यही पसलको नजिकै छ‚ ‘एस.फोर सेनेटरी प्याड उद्योग’को ‘स्टल’, जहाँ पाइन्छन् कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड। घरमा हातले बुनिएका विभिन्न तयारी कपडा सहित स्टल राखेकी कुश्मा नगरपालिका-४ की सरिना पुनले पनि व्यापारभन्दा पनि प्रचारप्रसारकै लागि ‘स्टल’ राखिएको बताउँछिन्। महोत्सव अवलोकनका लागि आएका धेरैलाई आफूले बनाएका सामग्रीको बारेमा बताएर तिनको प्रचारप्रसार गर्न सके बिस्तारै बजार पाउने आशामा पुन छिन्।

कृषि ज्ञानकेन्द्र कार्यालयले पनि प्रदर्शनीमा उत्कृष्ट उत्पादन तथा घरेलु उत्पादन राखेको छ। १० भन्दा बढी स्टलमा कृषि उत्पादनका सामग्री राखिएका छन्।

तिनीहरूमा सुन्तला, किवी, ताजा तरकारी, अदुवा, टिमुर, भागो, कागती, उखु लगायत राखिएका छन्। कृषिमा आधारित प्रशोधित उत्पादनहरू मह, कफी, चिया, लप्सीको अचार, लप्सी पाउ, लप्सी क्याण्डी, लप्सीको धुलो, अदुवा क्याण्डी, अमलाको अचार, अमलाको पाउ, गुन्द्रुक, मस्यौरा, किवी जुस, कागतीको रस, विभिन्न स्थानीय चामल, दाल, बेसार लगायत बिक्री वितरण भइरहेको छ।

स्थानीय उत्पादनको प्रवर्धन होस् भन्ने उद्देश्यले कार्यालय आफैँले ‘स्टल’ राखेर दर्शकलाई कृषि पेसाप्रति जागरुक बनाउन प्रयास गरेको केन्द्र प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउँछिन्। स्टलमा राखिएका कृषि उत्पादनले कृषिमा आकर्षित गर्ने तथा जिल्लामा उत्पादित कृषि उत्पादनको प्रचारप्रसारमा सहयोग पुग्ने उनको भनाइ छ।

‘महोत्सवमा आएका दर्शकले चासोका साथ कृषि उत्पादनका स्टलमा अवलोकन गर्ने र सामग्री पनि खरिद गर्ने गरेको देखेका छौँ। काठका मुढामा फलाइएका च्याउदेखि महको चाकाबाट बनेका मैनसम्मका बस्तु कृषिको स्टलमा राखिएको छ’, थापा भन्छिन्, ‘व्यवसायीले राख्नुभएका स्टलबाट कृषि उपज बिक्री भए पनि ज्ञानकेन्द्रको कार्यालयबाट कृषकलाई आवश्यक ज्ञान दिने र सामग्री देखाउने काम हुन्छ। हाम्रो स्टलमा रहनुभएका प्राविधिकले जसले जेका बारेमा जान्न खोज्नुहुन्छ, त्यसका बारेमा बताउनुहुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.