|

फिक्कल : इलामको सूर्योदय नगरपालिकालाई ४ वर्षअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईले पर्यटकीय नगरी घोषणा गरे। तामझामका साथ पर्यटकीय नगर घोषित सूर्योदय नगरपालिकामा व्यवस्थित सार्वजनिक शौचालय छैनन्।

नगरपालिकाको कार्यालयनजिकै झापाबाट इलाम हुँदै ताप्लेजुङसम्मजाने सवारीसाधन रोकिन्छन् तर उनीहरूलाई शौचालय कहाँ जाने भन्नेमा दुविधा हुन्छ। शौचालय जानकै लागि कतिपय यात्रु खाजा र नास्ता खाने बहानामा होटल छिर्ने गरेका छन्।

चिया, खाजा वा नास्ता खान होटल छिरेपछि मात्र सर्वसाधारणले शौच गर्न पाउँछन्। होटल मालिकसँग चिनजान भएका कतिपयले सहज तरिकाले होटलका शौचालय प्रयोग गर्न सक्छन् तर चिनजान नभएका भने खाजा नास्ता खाने बहानामा होटल छिर्न बाध्य छन्।

‘इलाम सुन्दर जिल्ला भनेर घुम्न आएका थियौं‚ कन्याम–फिक्कल ठाउँमा सारै रमाइलो तर शौचालय जानै समस्या रहेछ। चिया खाने बहाना बनाएर मात्र शौचालय जान पाइयो। त्यो पनि पिसाब फेर्नका लागि मात्र‚’ काठमाडौंबाट आएका एकजना पर्यटकले भने।

कतिपय भने शौचका लागि खोल्साखोल्सी र एकान्त ठाउँ खोजेर जान बाध्य छन्। अझ कतिपयले शौचालय जानका लागि खाजा अर्डर गरेर गएपछि फर्किएर नआउनेसमेत गरेका छन्।

‘कतिपय ग्राहकहरु खाजा अर्डर गरेर शौचालय जानुहुन्छ। दिसा पिसाब गरिसकेर फर्किएर नै आउनुहुन्न्‚’  फिक्कलमा बिविके होटल सञ्चालन गरिरहेकी सन्ध्या राई गुनासो गर्छिन्‚ ‘आउनुहुन्छ होला भनेर पर्खियो नआएपछि कतिपय खाजा नाश भएर जान्छ। अहिले शौचालय सोध्नुभयो भने पनि छैन भन्नुपर्ने अवस्था छ।’

इलामलाई २०७१ फागुनमा नै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो तर अहिले सार्वजनिक शौचालय नहुँदा पर्यटकीय नगरीमा आउने पर्यटकहरू नै खुल्ला ठाउँमा शौच गर्न बाध्य छन्।

सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारको पशुपतिनगर स्ट्यान्डमा एउटा सार्वजनिक शौचालय भए पनि सरसफाइ भएको देखिँदैन। फिक्कलबाट पशुपतिनगर जाने र माईजोगमाई जाने यात्रुबाहेक अरुको पहुँचमा शौचालय छैन।

मेची राजमार्ग हुँदै दैनिक हजारौको संख्यामा सवारीसाधन बिर्तामोड, ताप्लेजुङ काठमाडौंलगायत गन्तव्यमा ओहोरदोहोर गर्छन्। विभिन्न गाउँबाट यहाँबाटै दैनिक उपभोग्य सामान जाने हुँदा किनमेल गर्न आउनेको पनि भीड लाग्छ।

नयाँ भवन निर्माणका लागि कुनै स्थान खाली छैन तर तीव्र सहरीकरणउन्मुख फिक्कलमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन्। यहाँ दिसापिसाब लागे खुल्ला ठाउँमा लाज नमानी जानुको विकल्प छैन।

नगरपालिकाको केन्द्रमा जनघनत्व वृद्धि भइरहँदा सार्वजनिक शौचालयको व्यवस्थापनमा भने ध्यान दिइएको छैन। सार्वजनिक शौचालयको व्यवस्थापन अभावमा खुला दिसामुक्त क्षेत्रमा समेत फोहोरमैला हुने गरेको छ।

कतिपय यात्रुहरु घरको आडमा छलेर पिसाब फेर्दै गर्दा घरधनीले पानी छ्यापिदिएको दृश्य सूर्योदयको केन्द्रमा फिक्कलमा सहजै देख्न सकिन्छ। सूर्योदय पूर्वी पहाडकै सवैभन्दा बढी जनघनत्व भएको स्थानीय तहसमेत हो।

पर्यटकीय क्षेत्र कन्याम र श्रीअन्तु भएकाले यहाँ दैनिक हजारौको संख्यामा भ्रमणमा आउने गरेका छन्। पर्यटकहरुको आर्कषणको केन्द्र कन्याममा समेत एउटा मात्र व्यवस्थित शौचालय छ। अर्को शौचालय भए पनि जीर्ण र सरसफाइ गरिएको छैन।

संघीय सरकारले १०० घुुम्नै पर्ने पर्यटकीयस्थलहरुमा कन्याम, फिक्कल र अन्तुको सर्किट भनेर सूर्योदय नगरपालिकालाई तोकेको छ तर तिनै क्षेत्र सार्वजनिक शौचालयको भरपर्दो व्यवस्था छैन।

नेपाल–भारत सीमाको पशुपतिनगर बजारमा समेत शौचालय छैन। दैनिक सयौंको संख्यामा भारतीय पर्यटकहरु आउने पशुपतिनगरमा समेत व्यवस्थित शौचालय छैन।

‘पशुपतिनगरमा २ वटा सार्वजनिक शौचालय भए पनि व्यवस्थित छैनन्। शौचालयमा पानी, बत्तीको व्यवस्थापनसमेत छैन। घुम्न आउने भारतीय पर्यटकहरु होटलमा खाजा खाने बहाना बनाएर शौचालय जानुपर्ने अवस्था छ‚’ स्थानीय कमल गदाल भन्छन्‚ ‘वडा कार्यालयका प्रतिनिधिहरुलाई २ वटै शौचालयको बारेमा जानकारी गराइएको थियो अहिलेसम्म व्यवस्थित भएको छैन।’

रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको हर्कटे बजारमा पनि सार्वजनिक शौचालयको अभाव छ। हर्कटेमा सार्वजनिक शौचालय बनाइए पनि प्रयोगमा ल्याइएको छैन। पानीको अभाव देखाउँदै सार्वजनिक शौचालयमा ताला लगाइएको छ।

९ वर्षअघि नै बनेको शौचालय बन्द हुँदा आवतजावत गर्नेले खुला दिसामुक्त क्षेत्रमा नै दिसा पिसाब गर्दै आएका छन्। नगरले मानिसहरुको चाप हुने क्षेत्रमा घुम्ती शौचालय निर्माणको लागि योजनासमेत बनाउन सकेको छैन।

नगरको केन्द्र रहेको वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामा शौचालय निर्माणका लागि बजेट भए पनि पायक पर्ने स्थानमा जग्गा नपाउँदा काम हुन नसकेको बताउँछन्।

‘हामीसँग अहिले पनि एउटा सार्वजनिक शौचालय छ। जनघनत्व बढी भएकाले एउटा पर्याप्त चाहिँ हैन अर्को यात्रुहरुको चाप भएको स्टेन्डमा बनाउनका लागि जग्गा पाइएको छैन। यही आवमा पनि शौचालयका लागि १५ लाख रूपैयाँ नगरबाट छुटिएको छ‚’ उनले भने‚‘ मोबाइल शौचालय बनाउनभन्दा पनि पहाडी क्षेत्र भएकाले बाटो साँघुरो भएको छ। व्यावसायिक क्षेत्र भएकाले जनघनत्व बढी छ। सुरक्षित स्थानमा राख्ने अवस्था नभएकोले पनि अहिले बनाइएको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.