|
फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसमा महामन्त्री तथा सांसद गगन थापाले बलात्कारजस्तो गम्भीर मुद्दा लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुने बताएका छन्। उनले तत्काल क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवाको निर्णय क्यान (नेपाल क्रिकेट संघ) ले फिर्ता लिनुपर्ने बताएका छन्।

उनले अदालतमा विचाराधीन नाबालिग बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेकोमा उनको धारणा के हो भनेर प्रश्न आएकाले आफ्नो धारणा सामाजिक सञ्जालबाट यसरी सार्वजनिक गरेका हुन्। 

सन्दीपलाई निलम्बन फुकुवा गरेर क्यानले बन्द प्रशिक्षणमा सामेल गरेपछि चौतर्फी आलोचना र विरोध भइरहेको छ।

यसै सम्बन्धमा गगनले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्‚ ‘अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ।’

उनले अगाडि उल्लेख गरेका छन् ‘मेरो धारणा स्पष्ट छ- बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न।’

उनले एक साताअघि नै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर मुद्दाको फैसला नहुन्जेल हतार नगर्न भनेको पनि उल्लेख गरेका छन्।

‘एक साताअघि नै यो प्रसङ्ग आउनासाथ क्यानका अध्यक्ष (जो नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन।’

उनले अगाडि लेखेका छन् ‘पुनः दोहोर्‍याउन चाहन्छु- बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ। नो इफ, नो बट।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.