|

जनकपुरधाम : नेपाल-भारत मैत्री युवा संघका अध्यक्ष तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भारतीय राजदूत नवीन श्रीवास्तवलाई मधेशमा संसद् भवन बनाइदिन आग्रह गरेका छन्। उनले यसबाट नेपाल-भारतको मित्रता राजनीतिक हिसाबले थप प्रगाढ हुने बताएका छन्।

आज शुक्रबार जनकपुरधाममा नेपाल-भारत मैत्री युवा संघको केन्द्रीय कार्यालयद्वारा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै सहमहामन्त्री यादवले मधेशका जनता नेपालको सीमा सुरक्षा मात्र होइन रोटी बेटी र पारिवारिक सम्बन्ध रहेकाले भारतले मधेशलाई प्राथमिकतामा राख्नुपर्ने  समेत बताए।

त्यस्तै कार्यक्रमका कांग्रेसका संघीय सांसद मुक्ता यादव र जनमत पार्टीका नेता तथा प्रदेश सांसद चन्दन सिंह सहितकाले पौराणिक र धार्मिक हिसाबले पनि भगवान् रामजानकीको कारणले नेपाल-भारतको सम्बन्धलाई प्रमाणित गरिरहेकाले त्यसै दृष्टिकोणले भारतले मधेशको विकासमा ध्यान दिन आवयश्क रहेको बताए।

उनले भारत सरकारले मधेशको विकासका लागि अलिक बढी ध्यान दिनुपर्ने समेत  बताए। जनमतका नेता सिंहले विपी कोइराला भारतमा बसेको मात्र नभई महात्मा गान्धी नेपालको  महोत्तरी आएको प्रसंग उठाउँदै राजनीतिक सम्बन्धमा पनि जोड दिए।

राजदूत श्रीवास्तवले एक से एक पौरानिक उदाहरणले नेपाल र भारतको सम्बन्ध दुई देशको मात्र नभई जनता जनताको सम्बन्धलाई प्रमाणित गरिरहेकाले विश्वकै पृथक् मित्रता रहेको बताए।

श्रीवास्तवले जनकपुरधाम आएका वेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम विकासका लागि घोषणा गरेको १ अर्ब सहयोगका लागि प्रस्ताव लिएर आउन पुन: आग्रह  गरे।

त्यस अवसरमा राजदूत श्रीवास्तवलाई संघका अध्यक्ष यादव, बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्‌का अध्यक्ष शीतल साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी तथा रामानन्द युवा क्लबका अध्यक्ष अशितोष झा सहितका पदाधिकारीसहितले मायाको चिनो दिएर सम्मान गरे।

राजदूत श्रीवास्तव आजै मधेशको सिरहा र सप्तरी सहितका जिल्लामा हुने कार्यक्रममा सहभागी हुने उनले बताए।

कार्यक्रममा संघका धनुषा अध्यक्ष बजरंगप्रसाद यादव, प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, लोसपा धनुषा अध्यक्ष परमेश्वर साह, भारतीय राजदूतका प्रोजेक्ट विभागका करुण वंशल, भारतीय वाणिज्य महादूतावास वीरगञ्जका महावाणिज्य दूत नीतेश कुमार,काउन्सिल शैलेन्द्र कुमार, संघका महासचिव कृष्णा सिंह सहित संघ, प्रदेशका सांसदहरू‚ पालिकाका प्रमुख र उपप्रमुखहरू सहित नागरिक समाजका अगुवा सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.