|

पर्वत : गण्डकी प्रदेश सरकार स्थापनाको अवसर पारेर गण्डकी प्रदेश सरकारको आयोजनामा गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।

प्रदेश सरकार मातहतको प्रदेश खेलकुद परिषद्को आयोजनामा आउँदो फागुन एक गतेदेखि तीन गतेसम्म मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रदेश खेलकुद परिषद्को कार्यकारी समितिको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको परिषद्का सूचना अधिकारी तथा कार्यालय प्रमुख कार्यालय प्रमुख  तोपलाल भुसालले बताए।

प्रदेश खेलकुद परिषद्को शुक्रवार बसेको कार्यकारी समितिको बैठकले प्रतियोगिताको आयोजना गर्ने र त्यसका लागि आवश्यक पर्ने करिब ३० लाख रुपैयाँ बजेट स्वीकृतिका लागि मन्त्रालयमा पेस गरिएको छ। परिषदमा  बजेट रहेको भए पनि खर्च गर्न स्वीकृति आवश्यक पर्ने भएकाले मन्त्रालयमा देखी पठाइएको हो।

प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाहरूबाट महिला र पुरुष विधामा प्रतियोगीहरू सहभागी हुन आउँदा २२ वटै समूहको सहभागिता रहने अपेक्षा गरिएको र त्यसका लागि जिल्लाहरूमा पत्राचार गरिसकिएको भुसालको भनाइ छ।  भलिबल खेलको विकास र विस्तार गरी नयाँ खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउ पुगोस् भन्ने उद्देश्य परिषद्ले  राखेको छ।

‘प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ। यसका लागि आवश्यक बजेट त हामीसँगै छ, तर खर्च गर्ने स्वीकृतिका लागि मन्त्रालयमा लेखी पठाएका छौँ’, सूचना अधिकारी भुसालले भने, ‘भलिबल राष्ट्रिय खेल पनि भयो। सरकार स्थापनाका अवसरमा मुख्यमन्त्री कप भलिबल खेल आयोजना गरियो भने खेलाडी उत्पादनका लागि पनि सघाउ पुग्छ।’

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष दुवै तर्फका समूहहरूलाई  क्रमशः एक लाख ५० हजार,  एक लाख र ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरूले जनही २०/२० हजार रुपैयाँ तथा विद्यागत रूपमा उत्कृष्ट पाँच विधाका महिला तथा पुरुष खेलाडी जनही १०/१० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतियोगिताको तयारीका लागि बैठकले परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रदेश खेलकुदका सदस्य विष्णु माया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.