|

धनुषा : लागुऔषधको प्रयोगका कारण मधेश प्रदेशमा आपराधिक घटनाहरू बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

मधेश प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमानाकाका कारण पनि लागुऔषधका कारण विभिन्न आपराधिक घटनाहरू बढ्दै गएका हुन्।

खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिलो हुने र त्यसले झनै विकृति र आपराधिक क्रियाकलापहरू बढ्न मद्दत गरिरहेको छ। खुला सिमानाका कारण सुगम बनाउनेभन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

उनले खुला सीमाका कारण मधेशका जिल्लाहरूमा अपराध थपिँदै गएको र युवाहरू लागुऔषध लगायतको कुलतमा फस्ने क्रमसमेत बढीरहेको बताए।

मधेश प्रदेश लागुऔषध दुर्व्यसनी र लागुऔषध कारोबारीहरूका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाएको छ। गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो।

जनकपुरधामबाट लागुऔषधसहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो। यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो।

प्रहरी नायव उपरीक्षक क्षेत्रीले समाजमा लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरू कुलतमा झनै फस्न थालेको जिकिर गरे। 

प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै लागुऔषध दुर्व्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा लिएको छ।

आव ०७७/७८ मा  लागुऔषधअन्तर्गत ७१४ मुद्दा दर्ता भएका थिए भने ९९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। आव ०७८/७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

मधेश प्रदेशमा लागुऔषधको उपलब्ब्धता सहज रहेकाले नै लागुऔषध दुर्व्यसनीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा सहभागी हुँदै आएका स्पर्श नेपालका नवीन मल्लिक बताउँछन्।

उनले लागुऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठिक हुने भए पनि लागुऔषधको सेवन गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको बताए।

मधेशमा सीमापारीबाट मधेशका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पुर्‍याउने र तेस्रो समूहले काठमाडौंलगायत ठूला शहरसम्म लागुऔषध पुर्‍याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरू प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायतका गतिविधिहरू देखाउने गर्छन्। उनले लागुऔषध सेवन गर्नेहरूलाई समयमै उपचार गर्न सके समस्याबाट मुक्त हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.