|

क्यानबेरा : अष्ट्रेलियाका सबैजसो व्‍यस्त सहरहरुमा धेरैपटक प्रस्तुत भइसकेको नेपथ्य तुलनात्मक रुपले शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा भने यसपालि पहिलोपटक उभिएको थियो।

थोरै मात्र नेपालीको बसोबास रहेको यस सहरमा पनि नेपाली लोक धुन बोकेर पुगेको ब्याण्डले शुक्रबार भब्य स्वागत पाएको हो।

यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा तोकिएको दर्शक संख्या अनुसार जारी सम्पूर्ण टिकट शोभन्दा अघिल्लो दिन अर्थात् बिहीबारै बिक्री भएर सिद्धिएको थियो। शुक्रबार कन्सर्ट सुरुहुनुभन्दा निकै अघि नै ‘अष्ट्रेलियन नेसनल युनिभर्सिटी’ परिसर भित्र रहेको हलमा नेपाली र केही मात्रामा अष्ट्रेलियन दर्शकहरुको घुइँचो लागिसकेको थियो।

स्थानीय समयअनुसार बेलुकीको ठीक ८:३० बजे कन्सर्ट सुरुहुँदा ब्याण्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरु गरेको थियो। त्यसपछि लगत्तै दोश्रो अल्बमको सर्बकालीक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो।

कार्यक्रम अवधिमा अमृतले उपस्थित नेपाली दर्शकहरुको साथ पाइरहँदा एकमनले खुशी र अर्को मनले दुःखी पनि महशुस भइरहेको उल्लेख गरे। ‘तपाइहरु यहाँ आएर उज्वल भविष्यका लागि संघर्ष गरिरहनुभएको देख्दा असाध्यै खुशी छु,’ उनी भनिरहेका थिए, ‘तर, यत्तिका उर्जावान् तन्नेरीहरुलाई आफ्नै मुलुकले बाँधेर राख्न नसकेको देख्दा कता कता नरमाइलो पनि भइरहेको छ।’

नेपालका युवा पुस्तालाई स्वदेशमै अवसर सिर्जना गर्न उनले मञ्चबाटै नेताहरुलाई आव्हान पनि गरे। त्यसो नगरिएमा आउने समयले उनीहरुलाई माफ नगर्ने चेतावनी पनि दिए।

मञ्चमा अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए। कलाकारको यो टिमबाहेक ब्यवस्थापक र प्राविधिकहरुको १३ सदस्यीय टोली यात्रामा सरिक छ।

‘यो कार्यक्रम भब्य रुपले सम्पन्न त भयो नै,’ स्थानीय आयोजक गौरव दहाल भनिरहेका थिए, ‘उपस्थित प्रत्येक दर्शकले सकारात्मक उर्जा बोकेर हलबाट बाहिरिएको देख्दा झनै खुशी लाग्यो।’

यसपटकको श्रृंखलावद्ध यात्रामध्ये क्यानबेरामा चौथो प्रस्तुती सम्पन्न भएपछि ब्याण्ड अब ‘वेस्टर्न अष्ट्रेलिया’ राज्यको राजधानी पर्थ सहर पुगेको छ। फेब्रुअरी ५ तारिख आइतबारका दिन त्यहाँस्थित ‘मेट्रो सिटी हल’मा अबको पाँचौ प्रस्तुति रहनेछ।

त्यसपछि फेब्रुअरी १० तारिख सिड्नीको ‘होडर्न पभिलियन’, फेब्रुअरी १३ तारिख मेलबर्नको ‘फोरम’ र अन्त्यमा अष्ट्रेलियाकै पुछारमा रहेको बेग्लै टापु तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन प्रस्तुत भएपछि नेपथ्य स्वदेश फिर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.