|

काठमाडौं : सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। रुपन्देही, धनुषा र मोरङका विभिन्न स्थानमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देही, सियारी गाउँपालिका-२ भगदरीमा ना.६ ख ६७६६ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-७ कनरी बस्ने ५५ वर्षीय फुलचन्द्र गुप्ताको शनिबार राति मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकलाई नियन्त्रणमा लिई हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषा, सबैला नगरपालिका-११ ईनरुवामा हाल नम्बर नखुलेको ट्याक्टरले प्र.२-०२-००२ प ०७४२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया अभगली देवी महराको मृत्यु भएको छ। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको थप अनसन्धानका लागि ४ वटा ट्याक्टर र १ वटा जेसीबीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मोरङ, उर्लाबारी  नगरपालिका-७ स्थित सडकमा प्रदेश ३-०१-०२२ च ६८४५ नम्बरको स्कारपियो र प्रदेश १-०१-०२ ह ३०७ नम्बरको सिटी सफारी एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा सिटी सफारी चालक पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २६ वर्षीय सन्जु उराउको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ५ जनाको सोही अस्पताल तथा १ जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको  छ। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-२ स्थित सडकमा डब्लुबी ७४ बीजे ५४७७ नम्बरको गाडी सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा गाडी सवार भारत बस्ने ६३ वर्षीय प्रताब सिहं तामाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बेलबारीमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटना घाइते भएका अन्य ३ जनाको सोही नर्सिङ होममा उपचार भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.