|

पर्वत : हरेक दिनजसो अभिभावकहरू विद्यालयमा गइरहेका देखिन्छन्। कोही बिहानै ६ बजेदेखि त कोही साँझको ६ बजेसम्म पनि। उनीहरू कोहीले चामलका पोका बोकेका हुन्छन्, कोहीले दाल, कोहीले हरिया तरकारी त कोहीले अरू नै खाने कुरा। खाने कुराहरू मात्रै होइन लगेका खाद्यान्न पकाउन आवश्यक अन्य सहयोगका लागि पनि अभिभावकहरू तयार छन्।

यो अवस्था हो जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीमा रहेको स्वधर्म माध्यमिक विद्यालयको। करिब १७० जना विद्यार्थी अध्ययनरत विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदायक शिक्षण संस्थाका रूपमा चिनाउने गरी गाउँपालिकाले नै अभिभारा बोकेको छ।

विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू धरासयी हुँदै गइरहेको बेलामा महाशिला गाउँपालिकाले स्वधर्म मा.वि.लाई विद्यार्थीको रोजाइको विद्यालयको रूपमा विकास गर्न आवासीय सुविधा सुरू भएको छ।

विद्यालयका प्रधानाध्यापक शेषकान्त शर्माका अनुसार बाल कक्षादेखि १० कक्षा सम्मका सबै विद्यार्थीहरूलाई अनिवार्य रूपमा आवासीय विद्यार्थीका रूपमा राख्न थालिएको छ। भौतिक पूर्वाधारको अभावमा रात्रिकालीन समयमा बस्न नसक्ने भए पनि तत्कालका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नै विद्यार्थीहरू विद्यालयमा रहन्छन्।

‘हामीले बिस्तारै भौतिक संरचनाहरू पनि बनाउँदै जाने छौँ। संरचना बनेपछि कक्षा ८, ९ र १० का विद्यार्थीहरू राति पनि विद्यालयको होस्टेलमा नै बस्नुपर्ने व्यवस्था हुनेछ। अहिले तत्कालका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उनीहरू विद्यालयमा नै रहन्छन’, उनले भने, ‘यो न्यूनतम मापदण्ड नै हो। ईसिडीका विद्यार्थी साना हुने भएका कारण उनीहरूको लागि आधा घण्टा तलमाथि होला। अरूको लागि लागि एक मिनेट पनि छुट हुँदैन।’

विद्यालयलाई आवासीय रूपमा सञ्चालन गर्न महाशिला गाउँपालिका र अभिभावकहरूले लिएको जिम्मेवारी सबैभन्दा महत्त्वपूर्ण छ। आवासीय रूपमा सञ्चालन गर्दा आवश्यक पर्ने जनशक्तिका लागि खर्चिनुपर्ने रकमको सबै हिस्सा गाउँपालिकाले बेहोर्ने भएपछि मात्रै अभिभावक र विद्यालयले सोचेको सपना पूरा भएको हो।

‘आवासीय रूपमा विद्यालय सञ्चालन गर्ने कुरा हामीलाई राम्रो लाग्यो। शिक्षा र स्वास्थ्य क्षेत्रको विकासबिना अरू विकासका कुराहरू जति अगाडि बढाए पनि देश अघि सर्ने दर कम हुन्छ। यही कारण आर्थिक लगानी गाउँपालिकाले गर्ने भएको हो’, गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसाल भन्छन्, ‘विद्यालयका ८ जना शिक्षकलाई प्रति शिक्षक मासिक १४ हजार रुपैयाँ गाउँपालिकाकातर्फबाट दिन्छौँ। दुई जना सहयोगी कर्मचारीलाई मासिक १५ हजारका दरले राखेका छौँ। विद्यालयकै अर्का एक जना कर्मचारीलाई मासिक १० हजार थप गरेका छौँ।’

यसअनुसार गाउँपालिकाले मासिक १ लाख ५२ हजार रुपैयाँ विद्यालयमा लगानी गर्नुपर्ने भएको छ। ८ जना शिक्षकहरूले थपिएको तलबबाट बिहान बेलुकाका अतिरिक्त कक्षामा शिक्षण गर्नुपर्ने छ भने सहयोगीका रूपमा राखिएका तीन जना कर्मचारीहरूले खाना तयार गर्नेदेखि व्यवस्थापकीय पक्षका अरू कामहरू गर्ने छन्।

गाउँपालिकाले आर्थिक बहन लिएको भए पनि खाद्यान्न आपूर्तिको सबै काम अभिभावकबाट हुने र विद्यालयले कुनै पनि आर्थिक लेनदेनको काम नगर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत सुवेदी बताउँछन्।

अहिले सुरूवाती अवस्थामा अभिभावकहरूले मासिक छ किलो, चार किलो र तीन किलोको दरमा चामल उठाएर विद्यालयमा सहयोग गरिरहेका छन्। घर गाउँमा नै उब्जने गरेका हरिया तरकारी, दाल, लगायतका खाद्य वस्तुहरूको आपूर्ति उनीहरू आफैले गरिरहेका छन्।

‘बिहानको खाजा, खाना, दिउसोको खाजा र बेलुका बस्नेहरूलाई पनि खानाको व्यवस्था गरेका छौँ। तालिका बनाएर फरक फरक दिनमा फरक फरक खाजा खुवाउने गरी काम गरिरहेका छौँ। बजारका खाने कुरामा पौष्टिकता नहुने भएकाले गाउँघरमा नै उपलब्ध हुने खाद्य वस्तु होस्टेलमा पाक्ने छन्’, अध्यक्ष सुवेदी भन्छन्, ‘६ कक्षासम्मका विद्यार्थीलाई राज्यले नै दिएको दैनिक खाजाले पुग्छ। बाँकीका लागि चिया खाजा अभिभावकले दिएकाबाट पुग्ला भन्ने विश्वास छ। खाद्यान्न आपूर्तिको सबै काम अभिभावकहरूले नै गर्नुभएको छ।’

विद्यालयले सुरू गरेको आवासीय अध्ययन सुविधाले आफ्नो अध्ययनमा थप सहयोग पुगेको कक्षा १० मा अध्ययनरत सोनिया के.सी.ले बताइन्। एसइईको तयारीमा रहेकाले कत्ति पनि समय खेर नफाली अध्ययनमा नै समय खर्चिनुपर्ने उनीजस्तै अरू विद्यार्थीहरूको छ।

बिहान बेलुका विद्यालय आउजाउ गर्दा पनि समय बित्ने गरेकोमा अब भने सबै समय अध्ययनमा लगाउन पाउँदा विद्यार्थीहरू पनि खुसी छन्। शिक्षककै साथमा रहन पाउँदा अध्ययनका क्रममा आउने जटिलताको समाधानको लागि पनि सहज हुने के.सी.को भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.