|

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। सो पार्टीको आइतबार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो।

त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानीय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरू सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले अब पार्टीको ध्यान सम्पूर्ण रूपमा महाधिवेशनमा केन्द्रित हुने बताए।

‘देशको वामपन्थी आन्दोलनलाई एकजुट बनाउनुको निम्ति हामीले पहलकदमी गर्नुपर्ने, अगुवाइ गर्नुपर्ने, हामीले नगरे अरूले गर्नसक्ने परिस्थिति नरहेको तर हामीसँगै हिँडन खोजिरहेको वातावरण हामीले देखेका छौं,’ उनले भने, ‘त्यसकारण एउटा असल कम्युनिष्ट पार्टीको नाताले वामपन्थी शक्तिहरूलाई जुटाउने जिम्मेवारी पनि हाम्रै काँधमा छ। यो दिशामा जानुपर्छ भन्ने दिशामा हामी अघि बढ्दैछौँ। संविधान र राष्ट्रको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेका छौं।’

त्यसै गरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ। कम्युनिष्ट पार्टीहरूलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्व दायी भुमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताए। बैठकमा नेताहरूले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.