|

विराटनगर : प्रदेश १ का सडक, भौतिक तथा पूर्वाधारमन्त्री दुर्गा चापागाई (सचिन) ले  मन्त्रालयमा नै कर्मचारी अभाव भएको बताएका छन्। आज (आइतबार) पत्रकारसँगको भेटघाटमा उनले दरबन्दीभन्दा थोरै कर्मचारी भएको बताएका हुन्।

२ सय ३६ जनाको दरबन्दी रहेको मन्त्रालयमा १ सय २० जनामात्र कर्मचारी रहेको र प्राविधिक जनशक्ति अभाव रहेको मन्त्री चापागाईले बताए। उनले भने, ‘यसलाई पूर्ति गर्ने लोकसेवाले वैकल्पिक लिस्टमा राखिएकालाई लिने कि भन्ने विषयमा छलफल भइरहेको  छ।’

उनले निजामती ऐन नआउँदा वृत्ति विकासमा धेरै असर पुगेको कर्मचारीहरूको गुनासो रहेको समेत बताए। ‘अध्ययन भ्रमण र कर्मचारीको सवालमा संघीय मन्त्रालयमा कर्मचारी धेरै हुन्छन्‚’ उनले भने, ‘अन्तरप्रदेशमा अलिकति ‘रिफ्रेस’ बनाउने वातावरण हुनुपर्‍यो भन्ने कर्मचारीको माग छ।’

अघिल्लो सरकारले स्मार्ट सिटीको अवधारणा बनाएको जानकारी दिँदै प्रदेश १ को विभिन्न ५ वटा क्षेत्रमा अध्ययन गरेर  डिपिआर तयार गरेको बताए। उनले भने, ‘यो कति प्रभावकारी हुन्छ भन्ने विषयमा समीक्षा गरिरहेका छौँ।’

उचित नमुना ग्रामीण बस्ती सुधारका कार्यक्रम अगाडि बढाउन राम्रो हुन्छ कि भन्ने विषयमा छलफल गरिरहेको उनले बताए। उनले प्राविधिक मन्त्रालय भएकाले हप्तामा दुई दिन अनुगमन र निरीक्षण गर्ने कार्ययोजना बनाइरहेको समेत जानकारी दिए।

प्रारम्भिक रुपमा ४ वटा पालिकाका सवारी नपुगेको स्थानमा सवारी पुर्‍याउने तयारी रहेको समेत बताए। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, संखुवासभाको सिलिचुङ गाउँपालिका र भोटखोला प्राथमिकतामा परेको मन्त्री चापागाईले बताए।

उनले पालिकाको केन्द्रमा गाडी नपुगेका ठाँउमा गाडी पुर्‍याउने प्रदेशका सबै गाउँपालिकाको केन्द्रमा गाडी पुर्‍याउने विषय प्राथमिकतामा रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.