|

सल्यान : स्वदेशमा कुनै रोजगारी नभएको भन्दै धेरै युवायुवती विदेश पलायन भइरहेका छन्। स्वरोजगार बन्ने नेपालमा वातावरण नै नभएको भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहदा सल्यान त्रिवेणी गाउँपालिका ५ मेलचौरका विष्णुबहादुर रावतले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।

चार वर्ष साउदी र कतार बसेका रावतले त्यहाँ बालुवामा तरकारी फेलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती थालेका हुन्। परिवार पाल्नकै लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका उनी अहिले आफ्नै घरमा वार्षिक ७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। ‘कतार र साउदीमा बालुवामा पाँच फिट माटो राखेर तरकारी फलाइँदो रहेछ’, उनले भने,  ‘नेपालमा त बीउ खेतबारीमा फाले मात्र पनि खानपुग्ने अन्न आउँछ।’

रावतले तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन्। रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि  त्यसको बदलामा जैविक विषादीको प्रयोग थालेको उनको भनाइ छ। ‘झारबाटै विषादी बनाएर तरकारीमा छर्किने गरेको छु’, उनले भने, ‘रासायनिक विषादी रोगको कारण भन्ने थाहा पाएदेखि यसको प्रयोग छाडेको हुँ।’ 

रावतले २१ रोपनी भन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन्। आफ्नो ६ रोपनी र भाडामा १५ रोपनी गरी २१ रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका छ। वार्षिक एक लाख एक हजार रुपैयँ दिने गरी छिमेकीको १५ रोपनी जमिन भाडामा लिएको उनले बताए। भाडामा लिएको जमिनमा १४ वटा प्लाष्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती गरेका छन्।

खुला आकाशमा भन्दा प्लाष्टिक घरमा तरकारी लगाउँदा रोग किराको संक्रमण कम हुनुका साथै बढी आम्दानी हुने गरेको रावतले बताए। उनको टनेलभित्र अहिले टमाटर ब्रोकाउली, धनिया, काउली, बन्दा लगायत तरकारी छन्। 

उनले तरकारी बिक्रीका लागि समस्या नभएको बताए। ठूलो मात्रामा उत्पादन गर्न सके बजारको समस्या कहिल्यै नहुने उनको भनाइ छ। ‘धेरै किसानले मेरो तरकारी नै बिक्री हुँदैन भनेको सुन्छु’,  उनले भने, ‘थोरै तरकारी उत्पादन गरेमा कोही पनि नआउने भएकाले ठूलो मात्रामा खेती गरे बजार खोज्दै हिँड्नु पर्दैन।’ तर बिचौलियाका कारण किसान मारमा परेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.