|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिइसकेको छ। पार्टीको आइतबार बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपका मन्त्री र राज्यमन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन्।

प्रचण्ड सरकारमा रास्वपाबाट स्वास्थ्य राज्य मन्त्री रहेकी डा तोसिमा कार्कीले पनि पदबाट राजीनामा दिएकी छन्। उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट राजीनामा दिएर गत मंसिरमा भएको निर्वाचनमा ललितपुर क्षेत्र–३ बाट प्रतिनिधिसभा विजयी भएकी थिइन्। 

उनले माघ ३ गते स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनी चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा गोविन्द केसीको अभियानमा सहभागी हुँदै आएकी थिइन्। 

पेशाले शल्य चिकित्सक (सर्जन) रहेकी र लामो समयदेखि चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवाज उठाउँदै आएकी डा कार्की स्वास्थ्य राज्य मन्त्री भएपछि धेरैले स्वास्थ्य सेवामा केही भए पनि परिवर्तन हुने अपेक्षा गरेका थिए।

आइतबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएसँगै उनको सत्ता यात्रा १९ दिनमै टुंगिएको छ। १९ दिनमा नै उनको सत्ता यात्रा टुंगिएपछि स्वास्थ्य सेवामा केही उल्लेखनीय काम गर्न त सकिनन् बरु यति छोटो सत्ता यात्रामा डा कार्कीको धेरैजसो समय विवादमै मुछिएर मन्त्रालयबाट बिदा भएकी छन्।

स्वास्थ्य मन्त्रालयमा राज्य मन्त्रीको जिम्मेवारी सम्हालेकै दिन उनी घाँटीमा स्टेथेस्कोप झुन्ड्याएर हिँडेको भन्दै विवादमा तानिएकी थिइन्। राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्न उनी बिरामीको चिकित्सकीय परीक्षण गर्ने स्टेथेस्कोप घाँटीमा भिरेरै मन्त्रालय पुगेकी थिइन्। त्यो देखेका धेरैले उनको आलोचनासमेत गरेका थिए।

राज्य मन्त्री भएको २ दिनमा गत माघ ५ गते वीर अस्पतालमा क्याथ ल्याब सेवाको उदघाटनमा रिबन काट्दा पनि डा कार्की विवादमा परेकी थिइन्। वीर अस्पतालको कार्डियोलजी विभागमा क्याथ ल्याब स्वास्थ्य  तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्य मन्त्री डा कार्की दुवै जनाले उदघाटन गरेका थिए।

तर विभागीय मन्त्री गएको ठाउँमा उदघाटनको मोहले डा कार्की पनि मन्त्री गिरीसँगै गएर रिबन काटेको भन्दै उनको आलोचना भएको थियो।

पछि उनलाई दुईजना मन्त्रीहरूले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ?  भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले उदघाटनसँगै जनशक्ति, सेवा विकेन्द्रीकरण, दरबन्दीजस्ता धेरै कुरा भए पनि नराम्रो कामको मात्रै प्रकाशन गरेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्।

क्याथ ल्याब उदघाटनको विवाद नसेलाउँदै उनी आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यलाई भेट्न जाँदा आइसियूजस्तो संवेदनशील ठाउँमा जाँदा स्वास्थ्यसम्बन्धी सावधानी पालना नगरेको भन्दै विवादमा परेकी थिइन्। एउटा शल्य चिकित्सकले आइसियूमा रहेको बिरामीलाई भेट्दा मापदण्ड उल्लंघन गरेको भन्दै उनको चर्को आलोचना भएको थियो।

यी विवाद १९ दिन स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारीमा रहेका वेला सार्वजनिक भएका विवाद हुन् तर मन्त्रालयभित्र पनि कर्मचारीमैत्री नभएको भन्दै उनको आलोचना हुने गरेको थियो।

यतिसम्म कि मन्त्रालयका विभाग, महाशाखाका निर्देशकहरू भेट्न जाँदा समय नदिने गरेको कर्मचारीहरूले नै भन्ने गरेका थिए। स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘विभागबाट महाशाखा प्रमुखहरू भेट्न आउँदा पनि उहाँले समय नदिनेजस्ता गुनासा आउन थालेको थियो। हामीलाई धेरै नै अप्ठ्यारो भइसकेको थियो।‘

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.