|
फाइल फोटो

काठमाडौं :‘राष्ट्रिय भूमि आयोग, जिल्ला समिति मकवानपुरले व्यवसायी अजेयराज सुमार्गीकी आमा विश्वाकान्ती कलावती सुमार्गी र उनका परिवारलाई सुकुम्बासीका नाममा जग्गा उपलब्ध गराउन खोजेको’ भनी केही सञ्चारमा आएका समाचारप्रति व्यवसायी सुमार्गीले आपत्ति जनाएका छन्।

समाचारको खण्डन गर्दै सुमार्गीले आफ्नो परिवारले सुकुम्बासीका नाममा जग्गा लिन खोजेको नभइ पाँच दशकदेखि आफ्नो पितापुर्खाले भोगचलन गर्दै आएको उक्त जमिनमाथि ‘पैतृक सम्पत्तिमाथि हकभोग कायम रहने’ नेपाली नागरिकको नैसर्गिक अधिकारअनुरुप मागदाबी मात्रै गरिएको बताए।

‘हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा रहेको उक्त जमिन मेरो हजुरबुबाको पालादेखि हाम्रो परिवारले भोगचलन गर्दै आएका हौं। मेरो बुबाको निधनपछि उक्त जग्गा मेरी आमा विश्वकान्ति कलावती सुमार्गी र मेरा काकाहरूले भोगचलन गर्दै आउनुभएको हो’, उनले भने।

सुमार्गीले आफ्नो परिवारसँग उक्त जग्गाको तिरो तिरेको प्रमाण समेत सुरक्षित रहेको बताए। ‘मेरो ठूलोबुबाले उक्त जग्गाको तिरो तिर्नुभएको विसं २०३३ सालको प्रमाण उपलब्ध छ। विसं २०३८ मा उक्त जग्गाको चारकिल्ला निर्धारण भएको कागजपत्रहरू छन्। पुराना प्रमाणहरूलाई बेवास्ता गरी नयाँ विषयजसरी प्रस्तुत गरी बदनाम गर्न खोजिएकोमा मेरो आपत्ति छ’, उनले भने।

नामसारी र तिरो तिरेको २०३३ सालको कागज

क्षेत्रीय किताबमा उल्लेखित जग्गाको चौहद खुल्ने २०३८ सालको कागज

सुमार्गीको प्रश्न : पैतृक सम्पत्तिको पुर्जा लिन कुन निकायमा जानुपर्ने हो?

सुमार्गीले आफू र आफ्नो परिवार सुकुम्बासी नभएको र सुकुम्बासीका नाममा जग्गा हडप्न पनि नखोजिएको बताए। दशकौंदेखि पुर्जा नबनेको पैतृक सम्पत्तिको पुर्जा प्राप्तिका निम्ति मात्रै भूमि आयोग जानुपरेको उनको भनाइ छ। पैतृक जग्गाको पुर्जा लिन खोज्दा अनर्गल प्रचार गर्ने सञ्चारमाध्यमलाई पैतृक जग्गाको पुर्जा दिने अर्को कुनै निकाय भए देखाइदिन पनि उनले चुनौती दिए।

‘पैतृक सम्पत्तिको पुर्जा लिन कहाँ जानुपर्ने हो?’, उनले भने, ‘यसअघि गठित सुकुम्बासी समस्या समाधान आयोग स्वयम् यस विषयमा प्रवेश गरेकाले मेरो परिवारले भूमि आयोगमा निवेदन दिनुपरेको हो। २०५८ सालमा सुकुम्बासी समस्या समाधान समिति मकवानपुरले उक्त पैतृक सम्पत्तिमा मेरो परिवारको हकभोग ठहर गरी तीन अंशमध्ये मेरी आमाको नाममा १ विघा १२ कठ्ठा २ धुर जग्गाको प्रमाणपत्र दिने निर्णय गरेको छ। बाँकी दुई अंशमा मेरो ठूलोबुबाका परिवारको हकभोग प्रमाणित भइ प्रमाणपत्र दिने निर्णय भएको छ। स्थानीयले उक्त जग्गामा पैतृक भोगचलन पुष्टि हुने गरी सर्जमिन गरिदिएका छन्।’

दशकौंदेखि भोगचलनमा रहेको, भोगचलन पुष्टि गर्ने दर्जनौं प्रमाण पनि भएको, तर लालपुर्जा प्राप्त नभएको पैतृक सम्पत्तिको पुर्जा लिन खोज्दा विषयवस्तुलाई बङ्ग्याएर बदनाम गर्न खोजिएको सुमार्गीको भनाइ छ।

२०४१ सालमै जिल्ला मालपोत कार्यालय मकवानपुरले पनि भोगचलनको प्रमाणपत्र जारी गरेको उनले बताए। ‘त्यसबेला मालपोत कार्यालय अर्थ मन्त्रालय अन्तर्गत रहन्थ्यो। जिल्ला मालपोतले २०४१ सालमै स्पष्टसँग कार्यालयको साविक श्रेस्ता र स्थानीयको सर्जमिनका आधारमा उक्त जमिनमाथि पराजुली परिवारको भोगचलन प्रमाणित गरिदिएको छ’, सुमार्गीले भने।

मालपोत कार्यालयको २०४१ सालको पत्र

 

सञ्चारमाध्यमहरूले हाम्रो कागजपत्रै हेरेनन् : प्रदीप पराजुली

हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरका प्रदीप पराजुली व्यवसायी सुमार्गीका ठूलोबुबा खेमनाथका छोरा हुन्। सुकुम्बासी समस्या समाधान समितिले पराजुली परिवारको भोगचलन पुष्टि हुने पुराना कागजात र स्थानीयको सर्जमिनका आधारमा पशुपतिनगरको उक्त जग्गामध्ये १ बिघा १ कठ्ठा १५ धुर जमिन खेमनाथले भोगचलन गर्दै आएको ठहर गरेको थियो।

‘तर पुर्जा दिने काम भने भएन’, प्रदीप भन्छन्, ‘बुवाका पालादेखि नै पैतृक जमिनको पुर्जा प्राप्तिका निम्ति संघर्षरत् छौं। प्रमाण पनि छन्, तर सरकारी समिति र आयोगहरू बन्ने र विघटन हुने क्रमले गर्दा मर्कामा पर्दै आएका छौं।’

भूमि आयोगको स्थानीय जिल्ला समितिले केही दिनअघि उजुरबाजुर सम्बन्धी ३५ दिने सूचना जारी गरेपछि केही सञ्चारमाध्यमले आफूलाई सम्पर्क गरे पनि भोगचलन पुष्टि गर्ने कागजपत्रलाई वेवास्ता गरिएको प्रदीपले बताए।

‘सञ्चारमाध्यमले मेरो भनाइलाई उचित स्थान दिएनन्। मैले पेस गरेका प्रमाणहरूलाई बेवास्ता गरे’, प्रदीपले भने, ‘मेरो बुबाको नाममा जग्गा पास भइआएको २०३३ सालको कागज, मालपोत कार्यालयले २०४१ सालमा प्रमाणित गरी दिएको भोगचलनको निस्सा र २०३८ सालको तिरोको रसिद समेत देखाएँ, तैपनि सुकुम्बासीका नाममा जग्गा हडप्न लागेको हल्ला चलाइयो।’

‘अरु त अरु २०४१ र २०५८ सालमा भएका सर्जमिनमा हस्ताक्षर गरी उक्त जमिनमा मेरो परिवारको भोगचलनलाई प्रमाणित गर्ने स्थानीयले समेत अहिले आएर सुकुम्बासीका नाममा जग्गा लिन खोजे भनेको सुन्दा दु:ख लागेको छ’, उनले भने।

दर्ता छुटेकाले पुर्जा नबनेको देखिन्छ : अधिवक्ता न्यौपाने

अधिवक्ता मुकुन्द न्यौपाने उक्त जमिनमा पराजुली परिवारको भोगचलन खुल्ने प्रशस्त प्रमाण देखिएको बताउँछन्। ‘मौजाबाट रैकर हुँदै कित्ता नम्बर समेत खुल्ने प्रमाण उहाँहरूसँग छन्’, न्यौपानेले भने, ‘पर्तीजग्गा कसरी व्यक्तिको हुन सक्छ भन्ने प्रश्न हुन सक्छ, तर चारकिल्ला खुल्ने प्रमाणमा जमिनको किसिम पर्ती जनाइएको भए पनि व्यक्तिका नाममा रहेका यस किसिमका जमिनलाई सर्वोच्च अदालत समेतले व्यक्तिकै ठहर गरेको प्रशस्त नजिर छन्।’

दर्तामा छुटेका कारण उक्त जमिनको पुर्जा नबनेको न्यौपाने बताउँछन्।

‘पराजुली परिवारको पैतृक भोगचलन रहँदै आएको उक्त जमिनमध्येबाट १५ कठ्ठा जमिन २०३५ सालतिर हेटौंडा सिमेन्ट उद्योगले आफ्नो हाताभित्र पारी तारबार गरेपछि स्वामित्वको विषयलाई लिएर विवाद उत्पन्न भएको देखिन्छ। तर, उक्त विवादपश्चात् जिल्ला मालपोत कार्यालय मकवानपुरले २०४१ सालमा दिएको निस्साले पनि उक्त जमिनमा पराजुली परिवारको भोगचलन पुष्टि गर्छ। त्यसैले दर्तामा छुटेकाले पुर्जा नबनेको देखिन्छ,’ न्यौपानेले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.