अध्ययन गर्न टोली गठन गर्दै छौँ : मन्त्रालय

|

काठमाडौं : गोकर्णेश्वर नगरपालिका ९ स्थित गोकर्णको यज्ञडोल(जगडोल)मा ‘राष्ट्रिय शहीद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भयो। सरकारले पार्क निर्माणका लागि ४६ करोड ७१ लाखमा डाँफे,सुनौला खिम्ती जेभी, बोखिम कन्ट्रक्सन, शान्ति निर्माण सेवा, सूर्य आरबी/जनपथ जेभी,चक्रेश्वरी/सूर्यजीवन जेभी कम्पनीलाई ठेक्का दिइएको थियो। यसमा ४ प्याकेज अनुसार काम छुट्याएको छ।

सामुदायिक वनको ६५० रोपनी जग्गामा शिलान्यास भएको यी सबै निर्माणका काम २०७४ सालमा नै सक्नुपर्ने सम्झौता थियो। तर,आयोजना सुरू भएको ११ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन। पटक-पटक समयमा यसको म्याद थपिँदै गर्दा पनि निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले तदारुकता दिएका छैनन्।

दोस्रो जनआन्दोलनको अभिलेख राख्ने, शहीदलाई श्रद्धा व्यक्त गर्ने र शान्ति तथा एकताको सन्देश फैलाउने उद्देश्यले यो पार्क निर्माण सुरु गरिएको थियो। शहीद भएका निजामती कर्मचारी तथा धुन्सा दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्ने उद्देश्य पनि थियो।

२०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौंको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) सँगै निजामती पार्क निर्माण गर्ने निर्णय गरेको थियो।

फलामको भ्युटावर भत्किए,रेष्टुरा जंगलमा परिणत

अहिले उक्त जंगलमा सबै संरचनाहरू लथालिंग देखिन्छन्। फलामको भ्युटावर भाँचिइसकेको छ। रेस्टुरेण्टका लागि बनाइएको संरचनामा खिया लागेको छ। पानी ट्यांकी,स्तुप झारले ढाकेको छ।

पैदलमार्गममा जोडिएका बत्ती फुटेका छन् भने पर्खाल लगाइएको इँटा भत्किएका छन्। तर, पनि यसमा सम्बन्धित निकायको चासो छैन। यी संरचना बेवास्ता गरी गोकर्णको शंखडोलस्थित सडक छेवैमा भएको एक भवन मर्मत गरी होटल सञ्चालन गर्न दिइएको छ। यज्ञडोल(जगडोल) लाई गोकर्णेश्वर नगरपालिकाको वडा ३,४ र ९ गरी तीन वटा वडाले छुन्छ।

१० रूपैँयाँ टिकट तर, छैन सौन्दर्य

उक्त राष्ट्रिय शहीद तथा निजामती पार्क प्रवेश गर्न जो कोहीले टिकटका लागि १० रूपैँया तिर्नुपर्छ। तर, संरचना हालसम्म नबन्दा १० रूपैयाँ पनि फोकटमा तिरेजस्तो लाग्ने सर्वसाधारण बताउँछन्।

शनिबार त्यहाँ भेटिएका सिर्जना आचार्यले भनिन्,‘यहाँ छिर्दा १० रूपैयाँसम्म टिकट लिने रहेछ,तर खै यहाँ छिरेर हेर्ने के? बरू यी संरचना नबन्दा नै हरियाली जंगलले मन लोभ्याउँथ्यो।’

उनले जंगलमा फोहोर थुप्रिए पनि सफा गर्न चासो नदेखाइएको बताइन्। ‘जताततै फोहोरमात्रै देखिन्छ। बनेका संरचनामा शौच गर्ने गरेको रहेछ। किन यति साह्रो किन बेवास्ता गरिएको होला?’’ उनले प्रश्न गरिन्। प्रायः शनिबार गोकर्ण जंगलमा पिकनिकका लागि सर्वसाधारण जान्छन्।

यसो भन्छ शहरी विकास मन्त्रालय

राष्ट्रिय शहिद पार्क व्यवस्थापन समितिका अनुसार आयोजना हेर्ने शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेजीमा परेपछि आयोजनामा अन्योल भएको थियो। अहिले यसलाई शहरी विकास मन्त्रालयले आयोजना हेर्दै आएको छ।

मन्त्रालयका प्रवक्ता प्रदीप परियारले त्यहाँको समस्या समाधानका लागि अध्ययन गर्ने टोली गठन गर्न लागिएको बताए। ‘शहीद पार्क निर्माणमा विभिन्न प्राविधिक कठिनाइ छ। त्यसलाई अध्ययन गर्ने टोली गठन गर्ने तयारीमा छौँ। त्यहाँको समस्या समाधानका लागि अब थप प्रक्रिया बढ्छ’,उनले भने। उनले अहिलेसम्म निर्माण कार्यमा कति खर्च भयो भन्नेमा अहिले यकिन खर्च विवरणकाे जानकारी नभएको बताए।  

संरचना बन्दै छ : वडा

अहिले काम तीव्र रूपमा भइरहेको गोकर्णेश्वर नगरपालिकाका वडा–४ का अध्यक्ष जयराम महतले दाबी गरे। ‘पहिला टेण्डर प्रक्रिया भयो, तर काम गर्न ठेकेदार सम्पर्कमा नआउने त्यही भएर समयमा सम्पन्न भएन। स्थानीय सरकार आएपछि अहिले त्यो अवस्था छैन। कतिपय निर्माण कार्य सम्पन्न भइसकेको छ। कतिपय सम्झौता भएर काम हुने प्रकृयामा रहेका छन्’,उनले भने।

‘स्थानीय सरकार आएपछि स्थानीय सरकार र उपभोक्ता समितिबाट गर्नुपर्ने काम पनि भइरहेको छ’,उनले भने,‘स्तम्भमा फाउण्डेसन प्रदेश सरकारबाट सम्पन्न भयो। योजनाहरू धेरै छन्। पानी र चौरको काम सकियो। पदमार्ग निर्माण कार्य सकियो।अब खासै ठूला योजना छैनन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.