|

काठमाडौं : छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने फाइनलमा साविक विजेता एपीएफ र न्यू डायमण्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ।

एपीएफ उपाधि रक्षाको योजनासहित उत्रिनेछ। न्यू डायमण्ड नयाँ च्याम्पियन बन्ने योजनामा हुनेछ। चार टोली सहभागी प्रतियोगितामा न्यू डायमण्ड अपराजित रहदै फाइनल पुगेको हो। सोमबार न्यू डायमण्डले लिग खेलमा एपीएफलाई ३–१ को सेटमा हराएको थियो।

एपीएफ दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो। प्रतियोगिताको तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानको लागि हुने खेल बिहान ११ बजे सुरु हुनेछ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताका विजेताले ३  लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ।

एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्ड प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.