|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने भएको छ। पार्टीको उच्च स्रोतले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दियो।

उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले पनि आफूहरूको समर्थन गरेको सरकारलाई विश्वासको मत दिइने जानकारी दिए। सरकारले आफ्ना माग र मुद्दालाई सकारात्मक रूपले लिइरहेको र ती कुरा पूरा गर्नुपर्ने पनि उनको भनाइ छ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा विश्वासको मत दिने/नदिने बारे निर्णय नगर्दा मुख्यमन्त्रीले विश्वासको मत लिन अन्योल तथा ढिलाइ भएको थियो।  उन्मुक्तिले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री रावलले भोलि प्रदेशसभामा मत लिने भएका छन्।

यहाँ ७ जना प्रदेशसभा सदस्य सहित नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। उक्त पार्टीले टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका उक्त पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई नै प्रमुख मुद्दा बनाउँदै आएको छ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त रावलले माघ २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार भोलि मुख्यमन्त्री रावलले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभाको अंकगणित

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा माओवादीका ११ (सभामुख सहित), एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन्। यी दलले विश्वासको मत दिए मुख्यमन्त्री रावलले २८ मत पाउँछन्। (सभामुखले मत दिन नपाउँदा) २७ मत पाउँदा विश्वासको मत प्राप्त हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.