|

घोराही घोराही उपमहानगरपालिकाको न्यायिक समितिले ५६ वटा मुद्दाको मिलापत्र गरेको छ। आर्थिक २०७८।७९ को जिम्मेवारी सरी आएका २१ वटा र यो तीन महिनामा ६३ वटा गरी कुल ८४ वटा मुद्दामध्ये ५६ वटाको मिलापत्र भएको  उपमहानगरकी न्यायिक समिति संयोजक तथा उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन्।

न्यायिक समितिद्वारा चालू आर्थिक वर्षको त्रैमासिकमा सम्पादित कार्य प्रगतिबारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा यो तीन महिनामा ६३ वटा मुद्दा दर्ता भएकोमा ३७ वटा विवादको मिलापत्र भएको र अन्य २६ वटा विवाद प्रक्रियामा रहेका समेत उनले जानकारी दिइन्।

न्यायिक समितिमा पालनपोषण तथा हेरचाह नगरेको, ज्याला मजदुरी नदिएको गरी २३ वटा, जग्गा विवाद, वातावरण प्रदूषण, गाली बेइज्जती गरी १५ वटा र लेनदेनका २५ वटा गरी जम्मा ६३ वटा दर्ता भएका थिए।

नेपालको संविधानको धारा २१७ को उपधारा १ अनुरूप गठित भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ को उपधारा १ र २ को अधिकार क्षेत्रभित्र रही न्यायिक समितिले विभिन्न प्रकृतिका विवाद दर्ता तथा फर्स्यौट गर्ने गरेको उनको भनाइ थियो। 

सकेसम्म मुद्दा मिलापत्रकै विधिबाट निरुपण गर्ने र मिलापत्र हुन नसक्ने तथा अधिकार क्षेत्रभित्र नपर्ने मुद्दालाई राय सहित माथिल्लो न्यायिक निकायमा जान सहजीकरण गरिदै आएको पनि उनले जानकारी दिइन्।

न्यायिक समितिले ससाना विवादलाई स्थानीय तहमै जनप्रतिनिधिको रोहबरमा मिलेसम्म मिलापत्रकै विधिबाट विवाद किनारा लगाउने कार्यलाई प्राथमिकतामा राख्दै आएको उपमहानगरका कानुनी सल्लाहकार भूपबहादुर केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.