|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयले झलारी बजारको सडकछेउ ठेलामा बदाम (मुमफली) राखेर बेच्दै आएको एक दशक बित्नै लागेको छ।

बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ। टाढाको गाउँबाट दैनिक बिहानीको झिसमिसेमै खाना घरबाट बोक्दै झलारी बजार पुग्छन्। ठेलामा मुमफली राखेर बेच्छन्।

‘सडकछेउमै बनाइएको चुलोमा मुमफली भुट्छु’, उनले भने, ‘श्रीमतीले भुटेको तात्तातो मुमफली बेच्छिन्।’

दैनिक २० किलोदेखि ४० किलोसम्म मुमफली बिक्री हुने गरेको छ। यसबाट दैनिक पाण्डेय दम्पतीले रु. एक हजारदेखि रु. एक हजार पाँच सयसम्म आम्दानी गर्छ।

पहिला मुमफली सस्तो हुँदा निकै बिक्री थियो। हाल महँगो भएपछि बिक्री घटेको पाण्डेय दम्पतीको भनाइ छ। रु. दुई सय प्रतिकिलोका दरले थोकमा खरिद गरिएको मुमफली रु. तीन सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ। हिउँदको चिसोका वेला मुमफली बढी बिक्री हुने गरेको छ।

यो व्यवसायबाट कमाएको रकमले पाण्डेय दम्पतीले छोरा र छोरीको विवाह गरेका छन्। घरका लत्ताकपडादेखि खाना खर्च मुमफली बेचेर आएको रकमले धानिदै आएको उनी सगर्व सुनाउँछन्।

‘गाउँमा घरवासका लागि रहेको जग्गामा ठेलाकै कमाइले घर बनाएँ, परिवारको खर्च उठाउँदै आएको छु’, उनले भने, ‘थोरै कमाइ भए पनि अरूसँग हात थाप्नु परेको छैन, पौरख गरेर जीविका चलाउँदै आएका छौं।’

विसं २०६८ सालमा सहकारी संस्थाबाट रु. २० हजार कर्जा लिएर पाण्डेयले ठेला व्यवसाय शुरु गरेका हुन्। व्यवसाय सञ्चालन गरेको एक वर्षमै सहकारीबाट लिएको कर्जा तिरेर उनले नाफा भएको रकम लगानी गरी व्यवसायलाई निरन्तरता दिएका छन्। मुमफली बेच्दै आएका उनी हिउँद सकिएपछि ठेलामा फलफूल राखेर बेच्छन्।

मुमफली जस्तो फलफूलबाट आम्दानी भने नहुने गरेको उनको अनुभव छ। ‘फलफूलका धेरै पसल भएकाले प्रतिस्पर्धा निकै हुन्छ’, उनले भने, ‘थोरै नाफा राखेर बेच्नुपर्दा आम्दानी सोचे जस्तो हुँदैन।’

यो काम नगरे जीविका चलाउन मुश्किल छ। त्यसैले बाह्रै महिना घाम, पानी र चिसो नभनी लाग्नु परेको उनको भनाइ छ। ‘थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट जीविका चलाउन सकिन्छ’, उनले भने, ‘व्यवसाय विस्तार गर्न स्थानीय तहले सघाउनुपर्ने हो तर हालसम्म त्यस्ता योजना ल्याएर हामी जस्तालाई सहयोग गर्न सकेको छैन।’

सडकछेउमै ठेला राखेर व्यवसाय गर्दै आएकाले सडक डिभिजन कार्यालयले सूचना जारी गरेर हटाउन भनेको छ, कुन ठाउँमा लगेर व्यापार गर्ने भन्ने पिरलो रहेको उनी बताउँछन्।

‘कमाइ गर्ने साधन भनेकै ठेला हो’, उनले भने, ‘कार्यस्थल भनेको सडकछेउ नै हो, ठेला व्यवसायीको पीरमर्कालाई ध्यानमा राखी नगरपालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदिनु आवश्यक छ।’ झलारी बजार क्षेत्रमा ठेलामा व्यवसाय गर्नेको सङ्ख्या झण्डै दुई दर्जनभन्दा बढी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.