|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरूलाई स्ववियु निर्वाचन लागेको छ। विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन् भने केही नेताहरू कार्यक्रम स्थलमै झगडा गर्न थालेका छन्।

सोमबार नेपाल विद्यार्थी संघका संस्थापन र इतर पक्षका दुईबीच नेपाल कमर्श क्याम्पस (मीनभवन) क्याम्पसमा ढुङ्गा हानाहान भयो। तनावग्रस्त बनेपछि पढ्न आएका विद्यार्थीहरूमा त्रास छायो।

शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीका अनुसार शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए। उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आयो। ‘हामी न्यायको लडाइँ लड्दै छौँ, देशभरका साथीहरूलाई अवैधानिक निर्णयका विरुद्ध लड्न आग्रह गर्दछौँ’‚ उनले भने।

ढुंगा हानाहान भएपछि यसबारे बुझ्न नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा घटनास्थल पुगेका थिए। पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले २८ पुसमै क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। 

१४ वर्षपछि हुन लागेको निर्वाचन प्रभाव पार्न चलखेल 

स्ववियु विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक-अधिकारको निम्ति काम गर्छ तर १४ वर्षदेखि नियमित निर्वाचन नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन। 

त्रिविले २०६५ सालअघिसम्म शैक्षिक क्यालेण्डरमा २/२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो तर त्रिविका क्याम्पसमा १४ वर्ष अर्थात् २०६५ सालयता नियमित निर्वाचन हुन सकेको छैन। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्।

०६५ चैत ६ गतेपछि ८ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासन सहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।

त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा गर्ने तयारी गरेको थियो। त्रिवि विद्यार्थी कल्याण परिषद्ले फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो।

उक्त समय धकेलिएपछि चैत ५ गतेको समय तोकियो। तैपनि उमेरहद लगायत अन्य विषयलाई लिएर पुनः निर्वाचन नगराउन चलखेल भइरहेको विद्यार्थी संगठनका नेता तथा निर्वाचनमा जुटेका युवाहरूले आशंका गर्न थालेका छन्।

त्रिवि विश्वविद्यालय स्ववियु निर्वाचनको आचारसंहिता सम्बन्धी प्रस्तावित निर्देशिका २०७९ मा निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दाखिला गर्ने दिन उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।

यही उमेरहदका कारण पनि विद्यार्थी नेताहरूलाई तगारो बनेकाे देखिन्छ। यसअघि नै नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि लागू गरेको उमेर हदसम्बन्धी व्यवस्था तत्काल हटाउन माग गर्दै आएको थियो। 

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली भन्छन्, ‘एमालेको अनेरास्ववियु महाधिवेशन हुँदै छ। यसलाई स्ववियुभन्दा माथिल्लो प्राथमिकतामा राखेका छन् भन्ने सुनिएको छ। यहीबाट नै स्ववियु निर्वाचन प्रभावित गर्न खोजिएको आशंका चाहिँ तल तल विद्यार्थीबीच गइरहेको छ। यस्तो गर्नु सरासर गलत हो।’ 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ।

गुण्डागर्दी गरेर होइन प्रतिस्पर्धामा जानुपर्छ : पराजुली

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष पराजुलीले झै-झगडा,लडाइँ गरेर नभई प्रतिस्पर्धामा जानुपर्ने बताए।

‘लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धा हो। यो सबैले स्वीकार गर्नुपर्छ’‚ उनले भने, ‘अब लामो समयपछि स्ववियु निर्वाचन हुँदै छ। यहीबाट आएको नतिजा सबैले स्विकार्ने हो, प्रभावित बनाई भएको गुण्डागर्दी शैलीप्रति हाम्रो संगठन चिन्तित भएको छ।’

उनले सरकारलाई यसप्रति गम्भीर हुन पनि आग्रह गरे। उनले आफ्ना संगठन चैत ५ मै निर्वाचन गराउने प्रतिबद्ध रहेकाले आन्तरिक तयारी गरिरहेको बताउँदै यही समयमा चुनाव गराउनुपर्ने गरिनुपर्ने उनको माग छ।

‘शान्तिपूर्ण ढंगबाट निर्वाचन गर्न तत्पर छौँ’

नेपाल विद्यार्थी संघका अध्यक्ष शेर्पाले शान्तिपूर्ण ढंगबाट स्ववियु निर्वाचन सम्पन्न गरी विद्यार्थीहरूको हकहितको रक्षा र सम्मान गर्न तत्पर रहेको दाबी गरे। तोकिएकै समयमा निर्वाचन हुनुपर्ने माग गर्दै यसका लागि तयारीमा रहन देशभरका नेविसंघका विद्यार्थी नेताहरूलाई उनले आग्रह गरे।

अनेरास्ववियु आरआर क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारीले निर्वाचनका लागि आफूहरू व्यापक तयारी गरिरहेको जानकारी दिए। उनले अहिले अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन केन्द्रित रहेर कार्यक्रम गरिरहेको बताए। 

‘अहिले तत्कालका लागि महाधिवेशन केन्द्रित छौँ’‚ उनले भने, ‘विद्यार्थीहरूको हक हितका निम्ति आवाज उठाउने काम त हुँदै आएकै हो।’ उनले चैत ५ मै स्ववियु निर्वाचन गर्नुपर्ने र समय नसार्न माग गरे। 

‘जुन मिति तोकिएको छ त्यसैमा निर्वाचन हुनुपर्छ, सर्छ भन्ने अहिले शंका चाहिँ लागेको छैन’‚ उनले भने। उनले अहिले तोकिएको उमेरहद फेरबदल नगरिनुपर्ने बताए। निर्वाचन मर्यादित ढंगले सम्पन्न गर्न र संगठनबीच मिलेर अघि बढ्नुपर्ने उनको सुझाव छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.