|

तुलसीपुर : चार लेन सडक समयमै निर्माण नभई सडक अस्तव्यस्त हुँदा समस्या भोगेको भन्दै तुलसीपुरका बासिन्दाले करिब डेढ घण्टासम्म सडक बन्द गरे। मंगलबार बिहान करिब साढे १० बजेदेखि उनीहरूले घोराही-तुलसीपुर सडक खण्डअन्तर्गत हात्तीखौवा चोक बन्द गरे।

लामो समयदेखि सडक निर्माण नहुँदा आफूहरूले धेरै समस्या भोगेको भन्दै बाध्य भएर सडक बन्द गर्नुपरेको उनीहरूको भनाइ छ।

तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी सावित्री श्रेष्ठले सडकका कारण आफूहरूले धेरै समस्या भोगेको बताइन्। सडक अस्तव्यस्त हुँदा गाडीले धेरै धुलो उडाएर आफूहरू बस्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो।

उनले भनिन्, ‘२-३ वर्ष हुन लाग्यो‚ हामीले यसरी नै सडकका कारण धुलो र हिलो खाँदै आएका छौँ। अहिले घरमा बस्न सकिने अवस्था छैन। सडकमा धुलो मात्र छ। त्यही धुलो गाडीले उडाएर हाम्रो घरभित्र पस्छ। धुलोका कारण हाम्रो स्वास्थ्यमा असर परेको छ। यसको समाधानका लागि वडा कार्यालय तुलसीपुर उपमहानगरमा पटक पटक जानकारी गरायौँ। हाम्रो कुराको सुनुवाइ भएन। बाध्य भएर सडक बन्द गर्न पुगेका हौँ। सडक बन्द गर्नु हाम्रो रहर नभई बाध्यता हो।’

उपमहानगरलाई सडक बनाउने अधिकार त छैन तर सडकमा उडेको धुलो नियन्त्रण गर्न पानी हाल्न त सक्छ। उपमहानगरले त्यो पनि गरेन। के हामी उपमहानगरका बासिन्दा होइनौँ? हामीले जनप्रतिनिधिलाई जिताएर यस्तो दुःख पाउन पठाएका हौँ? भन्दै प्रश्न गरिन्।

सडकको धुलोका कारण घरबाहिर ५ मिनेट पनि बस्ने नमिल्ने अवस्था रहेको पनि उनको भनाइ थियो। उनका अनुसार घरभित्र धुलो आउँदा स्वास्थ्यमा समस्या हुन थालेको छ।

यस्तै तुलसीपुर-६ बनकट्टाका हिमाल डिसीले पनि आफूहरूलाई धुलो मुक्त बनाउन आग्रह गरे। लामो समयदेखि आफूहरूले सडकको धुलो खाँदै आएको भन्दै यसको समाधानका लागि बाध्य भएर सडक बन्द गर्नुपरेको बताए।

उनले भने, ‘यहाँ तुलसीपुरका मेयर आएर धुलो नियन्त्रणका लागि प्रतिबद्धता व्यक्त गर्नुपर्छ। जसरी हुन्छ हामीलाई धुलोबाट मुक्त गराउनु पर्छ। यसअघि पनि हामीले सडक बन्द गर्दा आश्वासन पाएका थियौँ। अहिलेसम्म कुनै पनि काम भएन। हामीले कहिलेसम्म यसरी धुलो खाएर बाँच्ने? मेयर पनि यही बाटोबाट हिँड्नु हुन्छ। उहाँले गाडीको सिसा लगाएर हिँड्दा केही असर पर्दैन। हामीलाई २४ घण्टा धुलोले सताएको छ।’

उनका अनुसार दैनिक सयौँ गाडी हिँड्ने र धेरै कुदाउने भएकाले पनि धुलो धेरै उड्ने गरेको छ। धुलोले घरभित्र र सडक वरपर रहेका व्यापार व्यवसायलाई समेत नोक्सान गरेको उनको भनाइ थियो।

उनले भने, ‘५ मिनेट यो सडकमा उभिनु पर्छ। त्यो मान्छे चिनिँदैन। यस्तो धुलो उड्छ कि त्यो हामीलाई मात्र थाहा छ। त्यही अवस्थाले गर्दा आज हामी सडकमा आउनु परेको हो। विकासका नाममा स्थानीय बासिन्दाको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन। काम गर्न नसक्ने भए पनि सडकलाई किन यस्तो अस्तव्यस्त बनाएको हो ?’

उनले आफूहरू यसअघि तुलसीपुर उपमहानगरमा धुलो नियन्त्रणको लागि दैनिक पानी हालिदिन आग्रह गर्न जाँदा तुलसीपुरका प्रमुख टीकाराम खड्काले वैशाखजेठमा त धुलो खानु भयो। अब बर्खामा पानी पर्छ। त्यसपछि धुलो उड्दैन भनेर गैरजिम्मेवार जवाफ दिएको पनि बताए।

यस्तै अर्का स्थानीय तुलाराम गौतमले पनि स्थानीय सरकारको क्षेत्र अधिकारभित्र यो सडक नभए पनि स्थानीय सरकारले प्रदेश तथा केन्द्र सरकारसँग पहल गर्नुपर्ने बताए। २ वर्षमा निर्माण भइसक्नुपर्ने बाटो ४ वर्षसम्म हुँदा पनि १० प्रतिशत काम नभएको र भएको सडक पनि अस्तव्यस्त हुँदा यहाँका बासिन्दाले धेरै समस्या भोग्दै आएको उनले बताए।

उनले नागरिकले देशको विकास निर्माणका लागि कर तिरे पनि नेताहरूले देशभन्दा आफ्नो विकासमा जोड दिँदा यस्तो अवस्था उत्पन्न भएको समेत आरोप लगाए।

उनले भने, ‘सडकमा गाडीहरू चलाउँदा राज्यलाई कर तिर्नुपर्छ। यदि कर नतिरेमा राज्यले उल्टै जरिवाना तिराउँछ। नागरिकले कर तिर्दा यस्तो ज्यान जोखिममा पारेर यात्रा गर्न बाध्य छन्। राज्यको दायित्व यही हो। नागरिकहरू चुनावमा भोटका लागि मात्र चाहिन्छ।’

उनले विगतका निर्वाचनमा पनि नेताहरूले यही सडकलाई भोट माग्ने आधार बनाएको भन्दै आगामी निर्वाचनमा पनि यसैलाई मुद्दा बनाएर सत्तारोहणको भर्‍याङ बनाउने गरेको आरोप लगाए।

सवारी चालकहरूले पनि उस्तै समस्या भोग्दै आएका छन्। सडकको अवस्थाले गर्दा तुलसीपुरबाट पर्सेनी आउने यात्रु भेटिए पनि आफूहरू बरु पश्चिमतिर जाने र यता आउन मन नलाग्ने तुलसीपुरमा अटो चलाउँदै आएका चालक गोविन्द सुवेदीले बताए। उनले सडकको यस्तो अवस्थाले गर्दा गाडी धेरै बिग्रिने गरेको पनि बताए।

यस्तै उनले सडकका कारण तुल्सीपुरका बासिन्दाले सडक बन्द गरेर आफ्नो माग राख्नु जायज भएको पनि बताए।

उनले भने, ‘बाटोको यो अवस्था हुँदा पनि राज्यले ध्यान दिँदैन। स्थानीय सरकारले पनि चासो दिएको छैन। यो सडकको धुलोले गर्दा मानिस विरामी भएका छन्। अब केही कुरा गर्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। नत्र भने कसैले ध्यान दिएको देखिदैन।’

तुलसीपुर उपमहानगरले भने सडक निर्माण आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र चाँडो निर्माणका लागि पहल गर्ने जनाएको छ। पीडितहरू बन्द खोलेपछि उपमहानगरमा छलफलका लागि गएका थिए।

उपमहानगरकी उपप्रमुख स्यानी चौधरीले सडक निर्माण आफ्नो क्षेत्राधिकार भित्र नपर्ने र यथाशीघ्र निर्माणका लागि पहल गर्ने बताएकी थिइन्। उनले धुलोको समस्या समाधान गर्नका लागि दैनिक पानी हाल्ने सहमति भएको पनि बताइन्।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही हुँदै लमही-सडकखण्ड अन्तर्गत कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक निर्माण गर्न २०७५ माघदेखि शुरु भएको काम ३० महिनामा पूरा गर्ने सम्झौता भएको थियो। उक्त सडकमा अहिलेसम्म ७ जना पेटी ठेकेदार फेरिएका छन्। चौथोपटक म्याद थपिएको छ।

२०७८ जेठ ६ गतेभित्र काम सक्नुपर्ने भए पनि त्यसो हुन सकेन। त्यसपछि २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो।

काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो। त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम हुन सकेन।

चारलेन सडक भ्याट सहित १ अर्ब २३ करोड रुपैयाँमा निर्माण हुन लागेको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.