|

सुर्खेत : हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट आएको सामान हिल्सामै रोकिएको छ। चीनले एकतर्फी रुपमा खुलाएको उक्त नाकाबाट ल्याइएका सामान हिमपातले नारा लेकबाट आउने बाटो बन्द भएपछि सामान ल्याउन नसकिएको हो।

वैशाखअघि उक्त लेकबाट सामान ल्याउन सक्ने अवस्था नरहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए। यारी लेकको उचाइ ४ हजार ६ सय मिटर रहेको छ।

हिल्साबाट सामग्री बुझे पनि सिमकोटतर्फ ल्याउन नपाइएको बताइएको छ। पहिलो लटमा हिल्सा भित्रिएको खाद्यान्न र लत्ता–कपडा सदरमुुकाम सिमकोट आए पनि विकास निर्माणका सामान भने सबै हिल्सामै रोकिएको हो।

ती सबै सामान व्यापारीले हिल्सामा पालले छोपेर राखेका छन्। हिल्सामा रहेको सामानमा ११ हजार बोरा सिमेन्ट र ३ गाडी सरिया/छड रहेको छ।

अब नारा लेकको सडक सञ्चालन नभएसम्म उक्त सामान हिल्सामै रोकिनेछ। नारा लेकमा ३ देखि ४ फिट हिउँ जमेकाले सामान वैशाखअगाडि ल्याउन सम्भव देखिएको छैन।

पुस १३ गते चीनले हिल्सा नाकाबाट पहिलो पटक सामान आयात गर्न एकतर्फी नाका खुलाएको थियो। पटक–पटक गरी चीनले ३४ गाडी खाद्यान्न, लत्ताकपडा र विकास निर्माणका सामग्री नेपाल पठाएको थियो।

यसबाट ३० लाखभन्दा बढीको सामान चीनबाट आयात भएको थियो। व्यापारीलाई सरिया/ छड नबिग्रिए पनि सिमेन्ट भने चिसोले बिग्रने चिन्ता थपिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.