|

सर्लाही : सर्लाहीको उत्तर–पश्चिम भेगस्थित सयौं हेक्टरमा उत्पादन भएको आलुको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन्।

व्यावसायिक आलु खेती गरेका किसानले प्रतिकेजी ४०/४५ रूपैयाँमा बिउ किनेर रोपेको आलु अहिले ११/१२ रूपैयाँमा बिक्री गर्न बाध्य भएको किसानहरूले गुनासो गरेका छन्।

छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा आलु नेपाल भित्रिएकाले यस क्षेत्रका किसानले उत्पादन गरेको आलुको भाउ पाउन नसकेका हुन्।

बरहथवा नगरपालिका–२ हजरियाका आलु किसान अर्जुन गिरीले लामो समयदेखि व्यावसायिक आलु खेती गर्दै आएका छन्। यस वर्ष डेढ बिघामा आलु खेती गरेका छन्। उनले व्यापारीलाइ प्रति किलो १२ रूपैयाँले खेतबाटै बेचेका छ्न्।

गिरीले डेढ बिघामा लगाएको आलुबाट गत वर्ष ३ लाख ६ हजार रूपैयाँ लिएको भए पनि यो वर्ष १ लाख ८० हजार रूपैयाँमै चित्त बुझाउनु परेको बताए। उनका अनुसार यो वर्ष १ कठ्ठामा आलु फलाउन किसानको ६/८ हजार रूपैयाँसम्म खर्च भएको छ। ‘बिउ र मल किन्ने बेला अत्यन्त महँगो पर्‍यो, त्योअनुसार अहिले आलुको मूल्य नै पाएनौँ‚’ उनले भने।

बरहथवा नगरपालिका–२ हजरियाकै अर्का किसान रामजी महतोले यो वर्ष आलु खेतीबाट लागत उठाउनसमेत मुस्किल परेको गुनासो गरे।

‘आलु गत वर्ष प्रतिकेजी १८/२० रूपैयाँमा बिक्री गरेका थियौं, यो वर्ष १२ रूपैयाँ किलो बेच्नु पर्‍यो, लागत र हैरानी उठेन। आलु लगाउने समयमा किसानले कालोबजारीमा युरिया प्रतिबोरा १७ सयदेखि २ हजार रूपैयाँ र डिएपी ३५ सय रूपैयाँसम्म किनेर हालेका थियौं, महँगीको बिउ र मल हालेर फलाएको आलुले उचित मूल्य पाएन‚’ उनले निराश हुँदै भने।

उनका अनुसार भण्डारण स्थलको अभावमा किसान खेतबाट नै व्यापारीलाई आलु बिक्री गर्न बाध्य भएका छन्।

बरहथवा–४ की किसान सृजना कार्कीले अहिले आलु बेचेकी छैनन्, उनले ४ बिघामा आलु खेती गरेको बताइन्। अहिलेको मूल्यमा आलु बेच्ने हो भने लागतसमेत नउठ्ने उनी बताउँछिन्। कार्की आलुको मूल्य बढ्ने पर्खाइमा छिन्। मूल्य बढेपछि बेच्ने मुडमा छिन् उनी।

जिल्लाको हजरिया, राजघाट, बरहथवा, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलु खेती हुने गरेको छ। विगत वर्षमा भन्दा यस वर्ष आलुको मूल्य दोब्बरले घटेको किसानहरू बताउँछन्। आफूहरूको समस्यामा स्थानीय तह र सम्बन्धित निकायले चासो नदिएको गुनासो किसानहरूले गरेका छन्। 

पछिल्लो समय उत्पादित आलुको उचित मूल्य नपाउने र वर्षेनी लागत बढ्दै जानाले पनि आलु खेतीप्रति यस क्षेत्रको किसान निराश बन्दै गएको बरहथवा नगरपालिका-२ का वडाध्यक्ष पुष्कर राउतले बताए।

उनी भन्छन्‚ ‘अहिले यस क्षेत्रको किसानलाई नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको छ, आलुखेती।’

​यस क्षेत्रमा लालगुलाब, कुप्रीसिन्दुरे, विविरे र कोमल जातको आलु विशेष रुपमा उत्पादन गर्ने गरेको छ। जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर १ हजार ४ सय हेक्टर हाराहारीमा आलु खेती भएको छ।

सर्लाहीमा यस वर्ष मात्र ३ लाख ५० हजार क्विन्टल आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहाले जनाएको छ। यो महिनामा पर्याप्त आलु उत्पादन हुनाले पनि मूल्यमा गिरावट आएको बताए। आलुको मूल्य घट्नुमा अन्य कारणहरू आफूलाई थाहा नभएको प्रमुख कुशवाहाले बताए।

यस क्षेत्रका किसानहरूले मकैलगायत बालीमा समेत अन्तरबालीका रुपमा समेत आलु उत्पादन गर्दै आएका छन्। जिल्लामा शीत भण्डारणको व्यवस्था नहुँदा भाउ राम्रो नपाएको किसानहरूको भनाइ छ।

सर्लाहीका किसानले उत्पादन गरेका आलुलगायत अन्य तरकारी वीरगंज, रौतहटको चन्द्रपुर, बाराको कलैयालगायत स्थानमा शीत भण्डारणको लागि लैजानुपर्ने बाध्यता रहेको बरहथवा–२ हजरियाका किसान महेश बरालले गुनासो गरे।

आलु खेती गर्दा जमिन हेरेर बिउ, खनजोत, खाद मल र गोडमेलसमेत गरेर गत वर्ष ५ हजार रूपैयाँ खर्च भएको थियो तर यस वर्षको लागत खर्च ६ देखि ८ हजार प्रति कठ्ठा भएको किसानहरू बताउँछन्।

विशेषगरि जिल्लाको बरहथवा, बागमती नगरपालिकामा व्यावसायिक रुपमा आलु खेती गरिन्छ। यस क्षेत्रलाई आलु पकेट क्षेत्रसमेत घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.