|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विदेशीहरुको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गरेका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विदेशीहरुको निर्देशनमा नेपालका अर्थतन्त्रहरु निर्माण हुने गरेको दाबी गरेका हुन्। उनले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा गइरहेको बताए।

महासचिव चन्दले नवउदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने र मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य हुन आवश्यक रहेको बताए।

उनले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरु आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताए।

उनले  थोरै मानिसहरुले अर्थतन्त्र अधीनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको बताए। महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवाद भित्र लैजानका लागि रुपान्तरण गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदै छ। बैंकहरुमा जम्मा दुई, तीन सय परिवारको स्वामित्व रहेको छ। नेपालको अर्थतन्त्रको हिसाव गर्दा २ सय परिवारको हातमा नेपालको आधा सम्पती केन्द्रित हुँदैछ। ९० प्रतिशत जनताहरु किसानहरु गरिबीको मारमा धकेलिरहेका छन्। लाखौंलाख युवाहरुको शक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ। यो आर्थिक संकट मात्रै होइन, राजनीतिक संकट कारण पनि हो।'

महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिनेगरी अघि बढ्ने बताए। उनले नेपाली जनताले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आगामी दिनमा जनतामा जाने र जनताको नेतृत्व गर्ने दाबी गरे।

उनले नेपाल कम्युनिष्ट पार्टीलाई जनआधारित पार्टी बनाउनुपर्ने भन्दै कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गरी परिवर्तनको संवाहकका रुपमा पार्टीलाई उभ्याउने बताए।

उनले विचार मिल्ने र मुद्दा मिलने कम्युनिष्ट पार्टीहरुसँग सहकार्य हुने पनि स्पष्ट पारे।

उनले भने, ‘यो पार्टीले देशको जिम्मा लिनेगरी सोच्नुपर्छ। नेपाली जनताले जे सपना जे चाहना राख्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ। पार्टी जनतामा जानुपर्छ, जनताको नेतृत्व गर्नुपर्छ। जन आधारित पार्टी निर्माण गर्नुपर्छ। जन आधारित नेता र कार्यकर्ताहरु बनाउनुपर्छ। यही व्यवस्थाभित्र घुमेर होइन, यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ।’

महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.