|

बैतडी :पाटनस्थित विमानस्थलमा १० महिनादेखि उडान बन्द रहेको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो। 

भाडा महँगो भएका कारण यात्रु नपाउँदा बन्द हवाइ सेवा पुनः सञ्चालन हुन नसकेको जनाएको छ।  ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको थियो। उडान भने लामो समयदेखि बन्द रहँदा यहाँ आकस्मिकरूपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्। 

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएको थियो। गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। ​हवाइ  सेवा पुनः सञ्चालन अनिश्चित रहेको समीट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए। आगामी  फागुनमा उडान हुन सक्ने भनिए पनि आधिकारिक जानकारी नआएको भट्टको भनाइ छ। 

पाटनदेखि १८ मिनेटको हवाइ यात्रा रहेको धनगढीको भाडा पाँच हजार रुपैयाँ रहेको छ। हवाइ सेवा बन्द हुँदा आकस्मिकरूपमा बिरामी भएकालाई सुविधा सम्पन्न अस्पातलमा लैजान तथा अन्य कामका लागि जाने सर्वसाधारणलाई समस्या भएको स्थानीय चमन भण्डारीले बताए। ‘करोडौँ लगानी गरेर निर्माण गरिएको विमानस्थलमा हवाइ सेवा सञ्चालन नहुनु दुःखद हो’,उनले भने, ‘भाडा पनि महँगो भएकोले भाडा घटाएर नियमित रूपमा आउनुपर्छ।’

सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल हो। पाटनमा विमानस्थल २६ वर्षपछि २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो। ०३६ सालमा सञ्चालनमा आएको पाटन एयरपोर्ट ०५१ सालदेखि भने बन्द थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.