|

तुलसीपुर : दाङको गढवाका अप्सन वैरागी मोटरसाइकलको ट्रायलमा पास गरेपछि राजस्व बुझाउन बुधबार बिहान बस चढेर ११ बजे तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय आइपुगे। आफूसँग मोटरसाइकल भए पनि लाइसेन्स नहुँदा बस चढेर आए।

राजस्व बुझाएपछि यातायात कार्यालयले तत्काल रसिद दिने र त्यसैको आधारमा मोटरसाइकल चलाउन पाइन्छ। उनी कार्यालय आइपुग्दा लाइन भित्रदेखि बाहिर गेटसम्म पुगेको थियो।

उनले भने, ‘बिहान ११ बजे आइपुगेको थिएँ‚ लामो लाइन थियो। कोठा नं. ३ मा गएर फोटो खिचाएर आएँ। त्यसपछि कोठा नं. ९ मा गएर राजस्व बुझाउन भनियो। अहिले दिउँसो ३ बजेसम्म लाइनमै छु। कुन वेला पालो आउँछ, थाहा छैन।’

यसरी लामो समयसम्म लाइनमा बस्ने उनी प्रतिनिधि पात्र हुन्। उनी जस्ता सयौँ सेवाग्राही राजस्व बुझाउन घन्टौँ लाइन लागे।

यस्तै उनले कार्यालयबाट पाउने सेवामा पनि सास्ती पाइरहेको र १० रुपैयाँ पर्ने हुलाक टिकटलाई बढी तिर्नुपरेको गुनासो गरे। उनले भने, ‘१० रुपैयाँको टिकटको मूल्य १५ रुपैयाँ तिर्न बाध्य छौँ। यस्तो कुरामा सुधार आउनु पर्छ। कोही बोल्न नसकेर मात्र हो‚ जनताले धेरै दुख पाएका छन्।’

यस्तै उनले मेडिकल रिपोर्ट पनि व्यक्तिमा भर पर्ने बताए। केही व्यक्तिले डाक्टरलाई स्वास्थ्य परीक्षण गराई ल्याए पनि केहीले सेटिङमा ल्याउने गरेको समेत बताए। यस्तै उनले यो यातायात कार्यालय तुलसीपुरमा मात्र नभई सेवाग्राही अवस्था हेरेर जिल्लाका अन्य ठाउँमा शाखा हुनुपर्ने समेत बताए।

उनले भने, ‘साविक राप्ती अञ्चलका ५ जिल्लाका लागि तुलसीपुरमा मात्र कार्यालय छ। धेरै ठाउँका मानिस सेवा लिन एकै ठाउँमा हुँदा भीड हुन्छ। कि अन्य ठाउँमा शाखा हुनुपर्छ, होइन भने प्रविधि प्रयोग गर्नुपर्छ। अनलाइन सेवाबाट राजस्व तिर्ने व्यवस्था गरे यस्तो भीड हुँदैन। मानिसले घरबाटै तिर्न सक्छन्। राज्यले यतातिर ध्यान दिन जरुरी छ।’

उनले आफू जस्ता सेवाग्राहीले लाइसेन्स नपाउँदा धेरै समस्या भोगेको उल्लेख गरे। ‘आफ्नो साधन भए पनि लाइसेन्स नहुँदा चलाउन पाइँदैन। यदि चलाएपछि ट्राफिकले भेट्टाए एक हजार जरिवाना काट्छ। साधन भएर पनि बसमा भाडा तिरी यात्रा गर्नुपर्छ’, उनले थपे।

यस्तै नयाँ लाइसेन्सको राजस्व बुझाउनेको लाइनमा बसेका घोराहीका गणेशकुमार घर्तीमगरले पनि उस्तै गुनासो गरे। उनले भने‚ ‘आजै लिखित परीक्षा हो। त्यसैले बिहानै आएर राजस्व बुझाउन लाग्दा ३ बजेसम्म लाइनमै छु। हामीले यस्तो दुःख कहिलेसम्म पाउने ? कहिले लाइसेन्स बनाउन नपाउँदा दुःख पाइन्छ। यति धेरै सेवा लिन आउने ठाउँमा कार्यालयले व्यवस्थित गरेको पाइँदैन।’

यस्तै उनले एक ठाउँमा मात्र राजस्व लिने भएकाले धेरै समय लाग्ने भन्दै कार्यालयले यसतर्फ ध्यान दिनुपर्ने समेत बताए। सरकारले जनताको काम छिटो छरितो गर्न निर्देशन दिए पनि आफूहरूले सधैँ यस्तै भोग्नु परेको उनको गुनासो छ।

उनले भने, ‘म धेरै पटक विभिन्न काममा सेवा लिन यस कार्यालयमा आएको छु। सधैँ यस्तै समस्या भोग्नुपर्छ। नेताहरूले निर्देशन मात्र दिन्छन्‚ सर्वसाधारणले यस्तै समस्या भोग्न बाध्य छन्।’

यस्तै तुलसीपुर-१२ जसपुरका पदमबहादुर खत्री पनि लिखित परीक्षाको राजस्व बुझाउन लाइन बसेका थिए। उनी पनि करिब ३ घण्टादेखि लाइन बसेका थिए। उनीभन्दा अगाडि करिब ५० जना लाइनमा थिए तर उनलाई पनि राजस्व बुझाएर बुधवार बेलुका लिखित परीक्षामा सहभागी हुनु थियो।

उनले भने, ‘राजस्व नबुझाई लिखित पर्न पाइँदैन। त्यसैले जति समय लागे पनि लाइनमा बसेर पालो आएपछि बुझाउनुको विकल्प छैन। यहाँ मात्र नभई अन्य सरकारी निकायमा पनि यस्तै सास्ती भोग्नु परेको छ।’

उनले यस कार्यालयमा साविकका राप्ती अञ्चलका ५ जिल्लाबाट सेवा लिन आउने गरेको भन्दै विभिन्न ठाउँमा शाखा सञ्चालन गरे सबैलाई सहज हुने बताए। यस्तै उनले पछिल्लो समय सबै प्रविधियुक्त हुँदा पनि सरकारी कार्यालयहरू अझै पुरानै तरिकामा हुँदा नागरिकले समयमै सेवा पाउन नसकेको बताए। उनले राज्यले सबै कार्यालयलाई प्रविधिअनुसार विकास गर्न सके मात्र सेवाग्राहीले सहज सेवा पाउने पनि उल्लेख गरे।

कार्यालयले भने केही दिनअगाडि ट्रायल तथा रिट्रायल पास गरेका र लाइसेन्सका लागि लिखित परीक्षा दिने २२ सय जना जति सबै एकैपटक सेवा लिन आउँदा कार्यालयमा भीड भएको जनाएको छ।

कार्यालयका सातौँ अधिकृत हुकुमबहादुर ओलीले माघको ५, ६ र ७ गते रिट्रायल भएको र ९, १०, ११ गते भएको नियमित ट्रायलमा ‘ए’ र ‘के’ वर्गमा करिब २२ सय जना पास भएको हुँदा सबैजना एकैपटक राजस्व बुझाउन आउँदा ३ दिनदेखि भीड भएको बताए।

उनले एक लाखभन्दा माथिको सवारी कर अनलाइनबाट लिने व्यवस्था गरे पनि त्योभन्दा कम कार्यालयमै आएर बुझाउनुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘सवारी कर र लाइसेन्स नवीकरण यहीबाट गर्नुपर्छ। लाइसेन्स नवीकरण गर्दा स्वयम् व्यक्ति नै उपस्थित हुनुपर्ने भएकाले पनि भीड हुन्छ। अब प्रविधि विकास हुनु पर्छ। त्यो पनि विस्तारै होला।’

यस्तै उनले कार्यालय भएको ठाउँ पनि साँघुरो र बजार एरिया भएका कारणले भीडभाड देखिने गरेको बताए। उनका अनुसार कार्यालयले विगत १७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको छ। यस्तै कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पनि नहुँदा सेवा प्रदान गर्न समस्या हुने गरेको बताए।

उनले भने, ‘अहिले पनि निमित्तको भरमा कार्यालय चल्दै आएको छ। कार्यालय प्रमुख नवौँ तह वा उपसचिव तहको दरबन्दी हो। लेखा शाखामा ३ जनाको दरबन्दी हो। लेखा प्रमुखको पद पनि रिक्त छ। लेखाका बाहेक अरू कर्मचारीले राजस्व काट्न मिल्दैन। अरूलाई आइडी बनाउन पनि मिल्दैन। अहिले लाइसेन्सतिर एकजना र सवारीतिर एकजनाले मात्र राजस्व काट्नु हुन्छ।’

उनका अनुसार अन्य ठाउँमा सवारीको एक ठाउँ र लाइसेन्सको अर्को ठाउँ हुने भए पनि यहाँ एउटै ठाउँमा हुँदा भीड हुने गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.